काठमाडौ ।ललितपुरको महालक्ष्मी नगरपालिकाका शिक्षकहरूको समूहले ‘नयाँ कक्षा’ नामक अनलाइन शैक्षिक प्लेटफर्म सञ्चालनमा ल्याएको छ। प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई घरमै बसेर विषयविज्ञ शिक्षकसँग पढ्ने अवसर उपलब्ध गराउने लक्ष्यसहित प्लेटफर्मको सुरुवात गरिएको हो।
महालक्ष्मी नगरपालिकाका विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकहरूको पहलमा स्थापना गरिएको प्लेटफर्मको शनिबार अनन्त माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका प्रमुख अतिथि गोपाल घिमिरेले मैनबत्ती बालेर उद्घाटन गरेका हुन्। कार्यक्रमको सञ्चालन डिएन कँडेलले गरेका थिए। कोरियन भाषा प्रशिक्षक सरस्वती कार्की र गणेश दंगालले कार्यक्रममा उपस्थित अतिथिहरूलाई खादा लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक घिमिरेले प्रविधिको विकाससँगै शिक्षण सिकाइको दायरा पनि फराकिलो हुँदै गएको बताए। अनलाइन माध्यमबाट देश तथा विदेशमा रहेर पनि गुणस्तरीय शिक्षा लिन सकिने उल्लेख गर्दै उनले नयाँ शैक्षिक अभियानलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका विशेष अतिथि शान्ताराम बिडारीले नयाँ शैक्षिक अभियानको सफलताको शुभकामना दिँदै यसले नेपाली भाषा र संस्कृतिको संरक्षणमा समेत योगदान पुर्याउन सक्ने बताए। विशेषगरी विदेशमा जन्मिएर हुर्किएका नेपाली बालबालिकालाई प्रविधिको माध्यमबाट मातृभाषा सिकाउने उद्देश्य प्रशंसनीय रहेको उनको भनाइ थियो। ‘नयाँ काम सुरु गर्नुभएको छ, गन्तव्य र लक्ष्य प्राप्त होस्। मौलिक नेपाली भाषालाई बिर्सनु हुँदैन। प्रवासी नेपालीका सन्तानलाई प्रविधिको प्रयोग गरेर नेपाली भाषा पढाउने लक्ष्यमा सफल हुनुहोस्,’ उनले भने।
कार्यक्रमका सभापति रघुनाथ कँडेलले बदलिँदो समयअनुसार शिक्षण सिकाइको शैली पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए। प्रविधिको उपयोगबाट घरमै बसेर प्रभावकारी अध्ययन गर्न सकिने भन्दै उनले नयाँ अभ्यास र निरन्तर सिकाइलाई आत्मसात् गर्नुपर्ने बताए।
‘नयाँ कक्षा’ मार्फत हाल कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा (बीएलई) र कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा सञ्चालन हुने बताइएको छ । दक्ष, अनुभवी तथा विषयविज्ञ शिक्षकबाट अध्यापन हुने प्लेटफर्ममा प्रत्यक्ष अनलाइन कक्षासँगै रेकर्ड गरिएका भिडियो, नमुना परीक्षा, अध्ययन सामग्री तथा परीक्षासम्बन्धी अन्य सुविधा उपलब्ध गराइनेछ । विद्यार्थीको पहुँच सहज बनाउने उद्देश्यले कक्षाको शुल्कसमेत न्यून राखिएको सञ्चालकहरूको भनाइ छ।
विद्यालय तहको परीक्षाको तयारीमा मात्र सीमित नरहेको यस प्लेटफर्मले कोरियन र जापानी भाषा सिक्न चाहनेहरूका लागि पनि कक्षा सञ्चालन गर्नेछ। त्यसैगरी विदेशमा जन्मिएर हुर्किएका नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउने कार्यक्रमसमेत समेटिएको छ।
कार्यक्रममा जित धामीले प्रविधिको माध्यमबाट प्रवासमा जन्मिएर हुर्किएको नयाँ पुस्ता र नेपालमा रहेका हजुरबुबा–हजुरआमाको पुस्ताबीच भाषिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्न सकिने बताए।
भौगोलिक दूरी, समय र आर्थिक अवस्थाका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य राखेको ‘नयाँ कक्षा’ ले विद्यार्थीलाई घरआँगनबाटै विषयविज्ञ शिक्षकसँग जोड्ने अपेक्षा गरेको छ।
‘एक सिकाइ, अनेक अवसर’ भन्ने मूल अवधारणासहित अघि बढेको ‘नयाँ कक्षा’ ले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै घरमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर विस्तार गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा समाजसेवी, शिक्षक, विद्यार्थी तथा कविहरूको समेत उपस्थिति रहेको थियो।