काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी रिहा हुने भएका छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न पत्र पठाएपछि डिल्लीबजार कारागारले रिहाइको तयारी गरेको हो । कारागारका जेलर विक्रम पाण्डेका अनुसार रायमाझीलाई कात्तिक २६ गते रिहा गरिनेछ ।
रायमाझीले ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुटको माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले उनलाई रिहा गर्न कारागारलाई पत्र पठाएको जेलर पाण्डेले बताए ।
‘उहाँले ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुटका लागि निवेदन दिनुभएको थियो । अदालतले हिजो रिहा गर्न भन्दै पत्र पठाएको छ । कात्तिक २६ गते छोड्ने भन्ने छ,’ पाण्डेले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए । उनलाई न्यायाधीश तेजबहादुर खड्काको इजलासले २०८३ असार ३० गते चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।