परासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार भदौ २९ गते साँझ करिब ६ः४० बजे मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका संजय र सुनिलबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा सुनिलले संजयमाथि कुटपिट गरेको बताइएको छ।
कुटपिटबाट संजयको दाहिने कानमा भित्री चोट लाग्नुका साथै कानबाट रगत बगेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।
उपचारकै क्रममा संजयको आज बिहान करिब ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न रहेको आरोपमा सुनिल प्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।