विनोद चौधरीको सार्वजनिक पहिचान उद्योग–व्यवसाय र राजनीतिसँग जोडिएको छ।चौधरी ग्रुपको नेतृत्व गर्दै नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सफल उनले निजी क्षेत्रको अनुभवलाई राजनीतिक परिवर्तन र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने धारणा अघि सार्दै आएका छ्न ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा निर्वचित चौधरीले आर्थिक समृद्धि, युवा नेतृत्व, रोजगारी सिर्जना र देशको आर्थिक रूपान्तरणलाई राजनीतिको प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिनु पर्ने उल्लेख गरे। उनको दृष्टिकोणमा राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई नागरिकको जीवनस्तर सुधार्ने, उत्पादन बढाउने र देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने प्रभावकारी माध्यम बन्नुपर्छ।
उद्योग–व्यवसायको क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक नीतिनिर्माणसँग जोड्ने चौधरीको प्रयासलाई आर्थिक विकासको बहससँग सम्बन्धित महत्त्वपूर्ण विषयका रूपमा हेर्न सकिने अन्य ब्यवसायिहरु बताउँछन।
“नेपालमा लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको प्रवर्द्धन, उत्पादनमूलक उद्योगको विकास र उद्यमशीलतालाई प्रोत्साहन गर्न सके युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सकिने अपार सम्भावना छ” चौधरीले भने ।
यद्यपि, आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न आकर्षक नारा र प्रतिबद्धता मात्र पर्याप्त हुँदैनन्। त्यसका लागि स्पष्ट आर्थिक नीति, प्रभावकारी कार्यान्वयन, पारदर्शिता र नागरिकप्रति जवाफदेहिता आवश्यक रहनेमा आफू स्पष्ट रहेको उनको जिकिर छ । निजी क्षेत्रको अनुभवलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्दा त्यसको लाभ सीमित वर्गमा मात्र नभई आम नागरिकसम्म पुग्ने सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको बुझाई छ ।
उनले अघि सारेका आर्थिक एजेन्डा व्यवहारमा कति कार्यान्वयन हुन्छन्, युवाका लागि रोजगारीका अवसर कति सिर्जना हुन्छन् र मुलुकको उत्पादन तथा लगानीमा सुधार ल्याउन सकिने परिणाम मुखि आधार तयार गर्नु पर्ने उनले बताए ।
नेपालको समृद्धिका लागि राजनीति, उद्योग र उद्यमशीलताबीच प्रभावकारी सहकार्य आवश्यक छ। चौधरीले अघि सारेको आर्थिक रूपान्तरणको अवधारणाले नेपाली कांग्रेसको नीति, नेतृत्व र कार्यशैलीमा कस्तो प्रभाव पार्छ भन्ने कुरा आगामी दिनमा उनको भूमिका र कार्यसम्पादनले स्पष्ट पार्नेछ।