नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री (खुला) पदमा पराजित भए पनि आफ्नो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्प कमजोर नभएको बताएका छन्।
महाधिवेशनमा आफूलाई मत दिएर साथ, समर्थन र सद्भाव व्यक्त गर्ने देश तथा विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूप्रति हार्दिक आभार व्यक्त गर्दै कण्डेलले निर्वाचनको परिणामलाई थप परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणाका रूपमा लिएको बताएका हुन्। निर्वाचनपछि धन्यवाद व्यक्त गर्दै उनले नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै लोकतान्त्रिक विधि र पद्धति पार्टीको गहना भएको बताएका छन्।
पार्टीको लोकतान्त्रिक अभ्यासप्रति गर्व गर्दै उनले निर्वाचनको परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरेको सन्देश दिएका छन्। कण्डेलले पदमा रहेर वा नरहेर पनि पार्टी र देशका दूरदराजमा रहेका नेता, कार्यकर्ता तथा आम नागरिकको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापनाका लागि आफ्नो प्रयास तथा सक्रियता निरन्तर जारी रहने बताएका छन्।
आगामी दिनमा पनि नेता, कार्यकर्ता र शुभेच्छुकहरूको साथ, सहयोग, सद्भाव र प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई थप सुदृढ बनाउने अभियानमा आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी, महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै कण्डेलले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उनले पार्टीको लोकतान्त्रिक अभ्यास र संगठन सुदृढीकरणका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने सन्देशसमेत दिएका छन्। ‘पदमा रहेर वा नरहेर पनि पार्टी र जनताको सेवामा समर्पित रहनेछु’ भन्ने प्रतिबद्धतासहित कण्डेलले आफ्नो राजनीतिक यात्रा र सक्रियता निरन्तर जारी रहने स्पष्ट पारेका छन्।