+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपसभापतिमा चौधरीको उदयले आर्थिक विकासलाई प्राथमिकताको सन्देश

हाम्रो आँखा
२०८३ आश्विन २७, मंगलवार ०९:२७

नवलपरासी । नेपाली कांग्रेसको उपसभापतिमा उद्योगी तथा व्यवसायी विनोद चौधरीको उदयले पार्टीले आर्थिक विकास, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिन खोजेको सन्देश दिएको चर्चा सुरु भएको छ । गगन थापाको नेतृत्वमा कांग्रेसले पुस्तान्तरण र पार्टी पुनर्गठनको सन्देश दिइरहेका बेला चौधरीको छलाङलाई आर्थिक क्षेत्रको अनुभव र राजनीतिक नेतृत्वबीचको समन्वयका रूपमा हेरिएको छ।

कांग्रेसको नयाँ नेतृत्व संरचनामा चौधरीको उपस्थितिले निजी क्षेत्रको अनुभवलाई पार्टीको आर्थिक नीति निर्माण र कार्यान्वयनसँग जोड्ने अपेक्षा गरिएको छ। मुलुकमा रोजगारीका अवसर सिर्जना गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, उत्पादन बढाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने,युवाहरुलाई उद्यममा प्रेरित गर्ने विषयमा उनको व्यावसायिक अनुभव उपयोगी हुन सक्ने देखिन्छ।

चौधरीको व्यावसायिक पृष्ठभूमि र कांग्रेसको नयाँ नेतृत्वको सन्दर्भमा आर्थिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने विषयले महत्त्व पाएको देखिन्छ,उनी प्रती आम अपेक्षा पनि यहि नै छ ।

मुलुकमा उत्पादन र उद्यमशीलता बढाउँदै युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने तथा लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने विषय आर्थिक रूपान्तरणका प्रमुख आधार मानिन्छ्न ।
निजी क्षेत्रको अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्न सके नीति निर्माण र कार्यान्वयनबीचको दूरी कम गर्न सहयोग पुग्न सक्छ। त्यसका लागि लगानीमैत्री नीति, आर्थिक सुशासन, उद्यमीलाई प्रोत्साहन र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। यस्तो अवस्थामा व्यावसायिक क्षेत्रको अनुभव भएका व्यक्तिलाई पार्टीको शीर्ष नेतृत्वमा समेट्नु कांग्रेसको आर्थिक विकाससम्बन्धी दृष्टिकोणसँग जोडिएको राजनीतिक प्रयोगका रूपमा समेत हेरिएको छ।निजि क्षेत्रले पनि अन्तरास्ट्रिय जगतमा नेपालको नाम राख्दै आएको चौधरी बताउँछन ।मुख्य कुरा लगानी मात्रै नभै लगानीको सुरक्षाको बाताबरण तयार हुनु पहिलो पक्ष भएको चौधरीले बताउनु भयो ।

“केही दिन अघि उद्योगिहरुलाई प्रधानमन्त्री ज्युले बोलाउनु भएको थियो,त्यहाँ मेरो उपस्थिति पनि थियो मैले आर्थिक बिकासका लागि आफ्ना धारणाहरु स्पष्ट सग राखेको थिएँ,म जुन भुमिकामा रहे पनि मेरो ध्यय भनेकै आर्थिक बिकास रोजगारी नै हो जहाँ आम युवालाई जोड्न सकियोस र नेपालमै बस्ने बाताबरण बनाउन सकियोस,यो बाहेक राजनीतिमा मेरो अरु कुनै श्वार्थ छैन”चौधरीले भने ।”नेपालमा सयौँ बिनोद चौधरी जन्मिएको हेर्न चाहेको” उनको भनाई थियो ।सबै बर्ग समुदाय र विभिन्न पृष्ठभूमिबाट आएका ब्यक्तिहरुको सामुहिक एक्यवद्धता र योगदानले मात्रै संगठन बलियो हुने उनको तर्क छ ।

उहा स्मरण गर्दै भन्छ्न “नेपालमा आर्थिक उदारीकरणको नीति मुख्य रूपमा नेपाली कांग्रेसको सरकारले वि.सं. २०४८ सालपछि अघि बढाएको हो। त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए भने अर्थमन्त्री महेश आचार्य थिए।”उहाँहरुको नीति बास्तवमै दुरगामी थियो र अहिलेको आवश्यकता पनि यहि हो,नयाँ पुस्तालाई पनि हामिले यो बुझाउन सक्नु पर्छ”

चौधरीको उदयलाई केवल नेतृत्व परिवर्तनका रूपमा मात्र नभई पार्टीको आर्थिक एजेन्डालाई थप प्राथमिकता दिने अवसरका रूपमा पनि विश्लेषण गरिएको छ। यद्यपि, यसले सार्थक परिणाम दिन नयाँ नेतृत्वले नीतिगत स्पष्टता, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक सुशासनका क्षेत्रमा कस्तो पहल गर्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।

चौधरीको व्यावसायिक अनुभवलाई पार्टीको नीतिगत योजनासँग जोड्न सके आर्थिक विकासका मुद्दालाई व्यवहारमा उतार्न सहयोग पुग्न सक्ने आम बुझाई पनि छ। त्यसका लागि निजी क्षेत्रको हितसँगै श्रमिकको अधिकार, उपभोक्ताको हित र सामाजिक न्यायबीच सन्तुलन कायम गर्नु पनि उत्तिकै आवश्यक हुनेछ ।

गगन थापाको नेतृत्वमा पुस्तान्तरण र संगठनात्मक पुनर्गठनको सन्देश दिइरहेको कांग्रेसका लागि चौधरीको उपसभापतिमा आगमनले राजनीतिक नेतृत्व र आर्थिक क्षेत्रको अनुभवलाई एकै ठाउँमाजोड्ने अवसर सिर्जना गरेको विश्लेषण गरिएको छ ।

अब नयाँ नेतृत्वले आर्थिक समृद्धि, रोजगारी र लगानीका विषयलाई व्यवहारिक नीति तथा कार्यक्रममार्फत कसरी अघि बढाउँछ भन्ने समेत चासो बढेको छ भने अर्कातिर चौधरीले आफ्नो ब्यवसायिक पृष्ठभूमिको अनुभवलाई कसरी पार्टीको नीति सग जोड्छ्न भन्ने समेत बहस सुरु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ