नवलपरासी । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा लुम्बिनी प्रदेशबाट एक युवा अनुहारले केन्द्रीय राजनीतिमा दाबी प्रस्तुत गरेका छन्।
लामो समयदेखि विद्यार्थी राजनीति र प्रविधिमैत्री संगठन विस्तारमा सक्रिय अनुकूल रेग्मी ले भूगोल तर्फबाट – लुम्बिनी प्रदेश, युवा (३५ वर्ष मुनि) कोटामा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।रेग्मीको उम्मेदवारीको मुख्य नारा छ “कांग्रेसलाई युवा अनुकूल बनाऔं।”
अनुकूल कुनै नयाँ नाम होइनन्। उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य हुन्। क्याम्पसको इकाईदेखि केन्द्रीय राजनीतिसम्मको अनुभव संगालेका उनले पार्टीभित्र वैचारिक र सांगठनिक दुवै बुझाइ राख्ने नेताको छवि बनाएका छन्।
रेग्मीलाई पार्टीभित्र “सोशल मिडिया प्रशिक्षक” को रूपमा पनि चिनिन्छ। नेविसंघ तथा नेपाली कांग्रेसको आयोजनामा देशका विभिन्न जिल्लाहरूमा पुगेर सोसल मिडिया सम्बन्धी प्रशिक्षण दिएका उनले हजारौं युवा कार्यकर्तालाई डिजिटल युगमा पार्टीको प्रचार कसरी गर्ने, फेक न्युज र ट्रोलबाट कसरी जोगिने र संगठनलाई अनलाइनबाट कसरी बलियो बनाउने भन्ने विषयमा प्रशिक्षित गरिसकेका छन्।यसै अनुभवलाई पनि केन्द्रमा लैजान चाहेको उनी बताउँछन्
“अबको कांग्रेस भाषणले मात्र होइन, कन्टेन्टले चल्नुपर्छ। हाम्रो पुस्ताले जुन डिजिटल प्लेट फर्म बाट काङ्ग्रेस बुझ्छ, त्यही भाषामा कांग्रेसको इतिहास र भविष्यलाई युवामाझ जोड्नु मेरो उद्देश्य हो” रेग्मीले भने।
पुस्ताबीचको सेतुको रूपमा आफूलाई प्रस्तुत गरेका रेग्मीको उम्मेदवारीलाई लुम्बिनी प्रदेशका युवा कार्यकर्ताले उत्साहका साथ लिएका छन्।