+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासी :बेच्ने बेलाको केरामा देखियो रोग,हराउँदै किसानको निद्रा भोक

मुक्ति तिवारी
२०८३ आश्विन २०, मंगलवार १८:०९

नवलपरासी । केही समयअघिसम्म राम्रो बजार मूल्य पाएर उत्साहित बनेका पश्चिम नवलपरासीका केरा किसान अहिले बालीमा फैलिएको रोगका कारण चिन्तित बनेका छन् ।

प्रतापपुर र सुस्ता गाउँपालिकामा व्यावसायिक रूपमा लगाइएको केरामा ब्ल्याक सिगाटोका रोग फैलिएपछि ठूलो क्षेत्रफलमा क्षति पुगेको हो ।
केरा जोनका रूपमा विकास गरिएको यस क्षेत्रमा रोगको प्रकोप व्यापक देखिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रतापपुर र सुस्ता गाउँपालिकाका १ हजार ८२ हेक्टर क्षेत्रफललाई केरा जोन घोषणा गरी किसानलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आइएको छ ।

तर, हाल उक्त क्षेत्रको खेतीयोग्य भूमिमध्ये करिब आधा क्षेत्रफलमा लगाइएको केरामा रोगको असर परेको परियोजनाले जनाएको छ ।

केरा बिक्रीका लागि तयार हुने समयमै रोग देखिएपछि किसानले अपेक्षित आम्दानी लिन नसक्ने अवस्था आएको छ । केराको पातमा सुरुमा साना थोप्ला देखिने र क्रमशः पात सुक्दै गएपछि बोट कमजोर हुने तथा फलसमेत पूर्ण रूपमा विकसित नहुँदै पाकेर कुहिने समस्या देखिएको किसानहरू बताउँछन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, केरा जोनका प्रमुख शालिकराम पौडेलका अनुसार अधिकांश किसानको खेतमा ब्ल्याक सिगाटोकाको समस्या देखिएको छ । रोग नियन्त्रणका लागि आवश्यक विषादी सिफारिस गरिएको उनले बताए ।

“अधिकांश किसानको खेतमा रोग फैलिएको छ । नियन्त्रणका लागि विषादी सिफारिस गरेका छौँ । किसानहरूले आवश्यक सावधानी नअपनाउँदा पनि रोग धेरै फैलिएको छ,” पौडेलले भने ।
उखुको भुक्तानी समयमा नपाउने समस्याबाट हैरान भएका किसान पछिल्लो समय केराखेतीतर्फ आकर्षित भएका थिए ।

भारतबाट केराको आयात रोकिएपछि नेपाली उत्पादनले राम्रो मूल्य पाउन थालेकाले किसान थप उत्साहित बनेका थिए । तर, रोगको प्रकोपसँगै उत्पादनमै क्षति भएपछि उनीहरूको उत्साह चिन्तामा परिणत भएको छ ।

केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले रोगका कारण बजारमा पठाउन तयार भएको केरासमेत क्षति हुन थालेको बताए । भारतबाट आयात रोकिएपछि किसानले राम्रो मूल्य पाउन थाले पनि रोगका कारण बजार मूल्यसमेत प्रभावित भएको उनको भनाइ छ ।

“ राज्यले बेमौसमी रुपमा पनि केराको बिउ उप्तापद गर्ने ब्यवस्था मिलाउनु पर्यो,आलुको बीउ तयार गरिन्छ तर केराको बीउ उत्पादनको अनुमती छैन,यो कुरा कहाँ अड्किएको छ थाहा छैन,स्थानिय तहले नै यसको पहल गर्दिनु पर्छ बल्लतल्ल अहिले भारतबाट केरा आउन रोकिएका कारण किसानले मूल्य पाएका थिए, तर रोगले धेरै बाली नष्ट गर्‍यो । मूल्य पनि रोगकै कारण घटेको छ, ” यादवले दुखेसो पोखे ।दर्जनको ४५ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म मूल्य पर्ने केरा अहिले १५/२० रुपैयाँ पनि नपर्ने अवस्था आएकोले किसानको भोक निद्रा समेत हराएको उनले बताए ।

किसान संजय मौर्यका अनुसार राम्रो मूल्यमा केरा बिक्री हुने अवस्था भए पनि रोगका कारण फल पूर्ण रूपमा तयार हुनुअघि नै बिक्री गर्नुपर्ने बाध्यता आएको छ । यसले किसानले अपेक्षा गरेको मूल्य पाउन नसकेको उनले बताए ।

हाल किसानले प्रतिदर्जन २५ देखि ४० रुपैयाँसम्ममा केरा बिक्री गरिरहेका छन् । रोगका कारण उत्पादनमा कमी आउनुका साथै गुणस्तरमा समेत असर परेकाले आगामी दिनमा किसानको आम्दानी थप प्रभावित हुन सक्ने देखिएको छ ।

कृषिविज्ञहरूका अनुसार पानी पर्ने र घाम लाग्ने क्रमसँगै मौसममा बढी आद्र्रता हुने समयमा ब्ल्याक सिगाटोका रोगको प्रकोप बढ्ने गर्छ । ढुसीजन्य यो रोग नियन्त्रणका लागि समयमै रोग पहिचान गरी खेतको सरसफाइ, प्रभावित पात व्यवस्थापन तथा सिफारिसअनुसार विषादी प्रयोग गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुक्ति तिवारी

ट्रेन्डिङ