काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चुनिएका सुबास रेग्मीले श्रमिक क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
बिन्ध्यवासिनी म्युजिकका सञ्चालकसमेत रहेका रेग्मी २०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टीसँग जोडिएका छन्। लामो समयदेखि कांग्रेसको वैचारिक आस्थासँग जोडिँदै आएका उनी स्पष्ट र खरो वक्ताका रूपमा परिचित छन्।
रेग्मीले लामो समयदेखि गीत–संगीत तथा कला–संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै यसको विकास र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्। पार्टी संगठनसँगै कला तथा सांस्कृतिक क्षेत्रमा समेत सक्रिय भूमिकामा रहेका रेग्मीले कांग्रेसलाई थप बलियो बनाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।
उनले गगन थापाको नेतृत्वमा रहेको कांग्रेस नै मुलुकको परिवर्तनको संवाहक बन्न सक्ने धारणा राख्दै पार्टीमा युवाहरूको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको बताए।
युवाको सहभागिता र श्रमिक वर्गको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको रेग्मीको भनाइ छ।