+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देउवा समूहले नवलपरासी जिल्ला र दुबै क्षेत्रमा तोक्यो संयोजक

हाम्रो आँखा
२०८३ आश्विन १६, शुक्रबार १४:१६

नवलपरासी ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिने क्रममा शेरबहादुर देउवा समूहले पश्चिम नवलपरासीका दुबै वटा निर्वाचन क्षेत्रमा जिल्ला संयोजक तोकेको छ ।

समूहले समग्र जिल्लाको संयोजकमा धर्मदत्त चापागाईंलाई जिम्मेवारी दिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका केन्द्रीय संयोजक डा. शशांक कोइरालाले नवलपरासी जिल्लामा महाधिवेशनसम्बन्धी गतिविधि अघि बढाउन चापागाईंलाई जिल्ला संयोजकमा मनोनयन गरेको पत्र पठाएका छ्न ।

यसैगरी देउवा समूहले पश्चिम नवलपरासीका दुवै संघीय निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । केन्द्रीय प्रतिनिधि घिमिरेका अनुसार क्षेत्र नं. १ को संयोजकमा राजुप्रसाद अधिकारी र क्षेत्र नं. २ को संयोजकमा इन्जिनियर विक्रम रानालाई जिम्मेवारी दिइएको देउवा समुहका केन्द्रिय प्रतिनिधि विकास घिमिरेले जानकारी दिए ।

प्रतापपुर–६ निवासी अधिकारी कांग्रेसको १४औँ महाधिवेशनबाट पालिका उपसभापतिमा निर्वाचित भएका थिए । त्यस्तै, सुनवल–७ निवासी राना विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

देउवा समूहले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिकाअनुसार पश्चिम नवलपरासीमा वडा अधिवेशनको उद्घाटन समारोह भोलि आयोजना गरिनेछ ।

आगामी १८ गते जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ ।
जिल्ला तथा क्षेत्रीय संयोजक तोकिएसँगै देउवा समूहले महाधिवेशनको तयारी र संगठनात्मक गतिविधिलाई अघि बढाउने जनाएको छ । वडा अधिवेशनबाट सुरु हुने समानान्तर महाधिवेशन प्रक्रियाले जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिमा कस्तो प्रभाव पार्न सक्छ त्यो भने हेर्न बाकी नै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ