+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाट खानेपानीको २६औँ साधारण सभा : स्थानीय तहको सहकार्यमा पहुँच वृद्धिमा जोड

हाम्रो आँखा
२०८३ आश्विन ४, आईतवार २०:३६

बर्दघाट । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले आर्थिक अभावका कारण विपन्न परिवार शुद्ध खानेपानीको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिका र खानेपानी संस्थाबीच सहकार्यको नीति अघि बढाइएको बताए।

उनका अनुसार विपन्न परिवारका घरमा खानेपानीको धारा जडानका लागि नगरपालिकाले ७० प्रतिशत र संस्थाले ३० प्रतिशत लागत व्यहोर्ने व्यवस्था गरिएको छ।

पूर्व नगरप्रमुख एवं सोही संस्थाका पूर्व अध्यक्ष धीरज शर्मा बस्यालले खानेपानी संस्थाले उपभोक्तामुखी सेवा विस्तारसँगै दीर्घरोगबाट प्रभावित तथा अशक्त उपभोक्तालाई उपचार तथा सहयोग उपलब्ध गराउने नीति बनाउन सुझाव दिए।

उनले बर्दघाटमा मात्रै सीमित नराखी नगर तथा जिल्लाका अन्य स्थानीय तह र खानेपानी संस्थासँग सहकार्य गरी पानी परीक्षणको सेवा जिल्लाभर विस्तार गर्नुपर्नेमा जोड दिए।

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले खानेपानी संस्था सफल बनाउन सुशासन, जवाफदेहिता र पारदर्शिता महत्वपूर्ण हुने बताए। उनले संस्थाले नेपालको प्रचलित कानुनअनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै पानी चुहावट नियन्त्रणका लागि उपभोक्ताले समेत समयमै जानकारी गराउन आग्रह गरे।

खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख दिनेशकुमार शाहले भूमिगत पानीको पुनर्भरण कार्यक्रमलाई थप प्राथमिकता दिन खानेपानी उपभोक्ता संस्थाहरूलाई आग्रह गरे।

बर्दघाट नगरपालिका–४ का पूर्व वडा अध्यक्ष रविन्द्र विक्रम हमालले संस्थाले आगामी कार्यक्रम र योजनासँगै आवश्यक बजेटसमेत स्पष्ट रूपमा प्रस्तुत गर्दा पारदर्शिता थप प्रभावकारी हुने बताए। उनले टोल विकास संस्थालाई उपलब्ध गराइएको रकमको सही सदुपयोग गर्न आग्रह गर्दै पानी चुहावट नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, पश्चिम नवलपरासीका अध्यक्ष देवीदत्त सापकोटाले ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए।

साधारण सभामा संस्थाका अध्यक्ष दीपक लम्सालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म गरिएका गतिविधि, भावी योजना तथा संस्थाले सामना गरिरहेका चुनौतीबारे जानकारी गराएका थिए। उपाध्यक्ष कमल थापाले खानेपानी सुरक्षासम्बन्धी गतिविधिको प्रगति प्रतिवेदन, कोषाध्यक्ष राधादेवी अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक नारायण भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारण सभाको अवसरमा संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका पाँच वटा टोल विकास संस्था तथा विभिन्न सामाजिक अभियन्तालाई सरसफाइका लागि आवश्यक औजारसमेत हस्तान्तरण गरेको थियो।

कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि,टोल बिकास सस्थाका अध्यक्ष,खानेपानी सस्थाका अध्यक्षहरुले आ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ