हरेक वर्ष विश्वकर्मा पूजा आउँछ। उद्योग, कलकारखाना, वर्कसप, निर्माणस्थलदेखि घर घरमा प्रयोग हुने औजार, मेसिन र उपकरणको पूजा गरिन्छ। भगवान विश्वकर्मालाई निर्माण,विभिन्न वास्तुकला र सीपका देवताका रूपमा सम्झिँदै काममा सफलता, सुरक्षा र समृद्धिको कामना गरिन्छ।
तर हामीले पूजा गर्ने विश्वकर्माको वास्तविक सन्देशलाई कति आत्मसात् गरेका छौँ?
हातमा औजार बोकेर पसिना बगाउने श्रमिकदेखि मेसिन चलाउने प्राविधिकसम्मको मेहनतले हाम्रो दैनिक जीवन सहज बनाएको छ। घर बनाउने मिस्त्री, फलाम पिट्ने कामदार, गाडी मर्मत गर्ने मेकानिक, विद्युत् जडान गर्ने प्राविधिक, काठको काम गर्ने कालिगड, कपडा सिलाउने दर्जी,भारी बोक्ने भरिया वा विभिन्न सीपमा निर्भर श्रमिक उनीहरूको श्रमबिना विकास र निर्माण सम्भव छैन,परिवर्तन सम्भव छैन ।
तर व्यवहारमा भने श्रम र सीपको सम्मान अझै पनि कमजोर देखिन्छ।नेपालमा सीप र श्रमको सम्मान हुन नसक्दा समाजले हेर्ने दृष्टिकोणकै कारण कयौं युवा पलायन भएका छ ।नेपाल कृषि प्रधान देश भएकाले उत्पादनले मानवीय सृष्टि धानेको कृषि पेशालाई त्यो क्षेत्रमा गरिने श्रमलाई समेत हामिले ईजतिलो पेशाका रुपमा बुझ्न र बुझाउन सकेनौ र ब्यवसायिक कृषि हुन सकेन ।
विश्वकर्मा पूजाका दिन औजार सफा गरिन्छ, पूजा गरिन्छ, धूप–दीप बालिन्छ र मिठाई बाँडिन्छ। एक दिन औजारलाई देवता मानेर पूजा गरे पनि वर्षभरि त्यही औजार चलाउने हातलाई हामीले कति सम्मान गर्छौं भन्ने प्रश्न भने अनुत्तरित छ।
हाम्रो सामाजिक संरचनामा अझै पनि श्रमलाई ठूलो र सानोको दृष्टिले हेर्ने प्रवृत्ति छ। शारीरिक श्रम गर्ने व्यक्ति र कार्यालयमा बसेर काम गर्ने व्यक्तिबीच सामाजिक प्रतिष्ठाको असमानता देखिन्छ। हातमा कालो ग्रीस र मैला लुगा लागेका कारण मेकानिकलाई हेर्ने दृष्टिकोणदेखि निर्माणस्थलमा पसिना बगाउने श्रमिकलाई हेर्ने व्यवहारसम्म यसका उदाहरण हुन्।
विडम्बना के छ भने सीप सिकेर आफ्नो खुट्टामा उभिन खोज्ने युवालाई हामी विदेश जानुअघि ‘सीप सिक’ भन्छौँ, तर स्वदेशमै त्यही सीप प्रयोग गरेर काम गर्नेलाई पर्याप्त सम्मान र पारिश्रमिक दिन भने हिच्किचाउँछौँ।जति नै महङ्गा लुगा होस,जतिनै सर्व सम्पन्न ब्यक्ति होस उ सग त्यो लुगा सिलाउने सीप हुँदैन सीप भएकै ठाँउ सम्म पुग्नु पर्दछ ।
सीप आफैँमा सम्मानित पेसा हो। कुनै काम सानो हुँदैन, कामप्रतिको इमानदारी र दक्षता ठूलो कुरा हो। एउटा दक्ष मेकानिकले बिग्रिएको सवारीलाई पुनः सडकमा ल्याउन सक्छ। एउटा दक्ष मिस्त्रीले बलियो घर निर्माण गर्न सक्छ। एउटा दक्ष विद्युत् प्राविधिकले घर, उद्योग र संस्थाको विद्युत् प्रणाली सुरक्षित बनाउन सक्छ। यी सबै काममा ज्ञान, अनुभव, धैर्य र सीप आवश्यक हुन्छ।समाजमा सबै सीप एक अर्काका परिपुरक हुन ।
सिपलाई कलात्मक बनाउने र निखार ल्याउने कुरा ब्यक्तिमा निहित हुन्छ।आज उच्च शिक्षा हासिल गरेका गयौं हातहरु सीप बिहिन हुँदा बेरोजगारको संख्या समेत बढ्दो छ त्यसैले प्रमाणपत्रले र सैद्धान्तिक ज्ञानले मात्रै मान्छेलाई पुर्ण बनाउदैन अन्ततः सिप आवश्य पर्दछ ।
तर सीपको मूल्यांकन प्रायः कामको पोसाक र सामाजिक हैसियतका आधारमा हुने गरेको पाइन्छ।
विश्वकर्मा पूजाको मूल भावना केवल मेसिन र औजारको पूजा गर्नुमा सीमित छैन। यो श्रम, सिर्जना, निर्माण र सीपप्रतिको सम्मानसँग जोडिएको पर्व हो। त्यसैले विश्वकर्माको पूजा गर्दै गर्दा उहाँसँग जोडिएको श्रम संस्कृतिलाई पनि सम्मान गर्न जरुरी छ।
श्रमिकलाई समयमै पारिश्रमिक दिनु, उचित ज्याला उपलब्ध गराउनु, सुरक्षित कार्यस्थल बनाउनु, दक्षताको मूल्यांकन गर्नु र श्रमिकलाई सम्मानजनक व्यवहार गर्नु नै वास्तविक अर्थमा श्रमको अनि पसिनाको सम्मान हो।मूल्य ब्यक्तिको होईन श्रमको हो ।
आज देशमा रोजगारीको अभाव, वैदेशिक पलायन र सीपयुक्त जनशक्तिको कमीबारे बहस भइरहेको छ। हजारौँ युवा सीप बोकेर विदेश पुगिरहेका छन्। निर्माण, मेकानिकल, इलेक्ट्रिकल, वेल्डिङ, प्लम्बिङ, कृषि तथा अन्य प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेको छ। यस्तो अवस्थामा सीपलाई सम्मान गर्ने संस्कार अझ बलियो बनाउन आवश्यक छ।कामलाई हाम्रो समाजमा तल्लो दर्जा र माथिल्लो दर्जाको रुपमा बिभाजन गर्ने प्रवृत्ति छ ।
विश्वकर्मा पूजा वर्षमा एक दिन आउँछ र जान्छ। तर श्रम र सीपको सम्मान कुनै एक दिनको संस्कार होइन। यो हाम्रो दैनिक व्यवहारको हिस्सा बन्नुपर्छ।
औजारलाई पूजा गरेर मात्र भगवान विश्वकर्माप्रति श्रद्धा पूरा हुँदैन। ती औजार चलाउने हातलाई सम्मान गर्न सक्यौँ भने मात्रै पूजाको अर्थ सार्थक हुन्छ ।
विश्वकर्मा पूजा गरौँ, तर औजारसँगै श्रम गर्ने हातको पनि सम्मान गरौँ। सीपलाई हेय होइन,सम्मानको दृष्टिले हेरौँ। किनकि विकासको जग ठूलाठूला भवन र मेसिनले मात्र होइन,ती निर्माण गर्ने श्रमिकका पसिना र सीपले बनेको हुन्छ।पसिना मजदुरीका लागि बग्दै गर्दा,जिवनयापनका लागि बग्दै गर्दा ती श्रम र सिपले राज्यलाई समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा महत्त्वपूर्ण योगदान दिएका हुन्छन ।