बर्दघाट । बर्दघाट नगरपालिकाले नगरभित्र सञ्चालित चार वटा माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ। नगर शिक्षा समितिको २०८३ साल साउन १० गतेको निर्णयअनुसार प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ को उपनियम ६ बमोजिम नगरपालिकाभित्र सञ्चालित विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको थियो। प्राप्त आवेदन तथा सम्बन्धित विद्यालयको प्रधानाध्यापक छनोट समिति र विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा चार जना शिक्षकलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार दाउन्ने देवी माध्यमिक विद्यालयमा नेत्रलाल न्यौपाने, दिव्यज्योति माध्यमिक विद्यालय, बर्दघाट–२ मा कृष्णप्रसाद अधिकारी, राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालय, बर्दघाट–९ मा पुष्पराज अधिकारी र नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय, बर्दघाट–१२ मा रेवती ज्वाली प्रधानाध्यापक नियुक्त भएका छन्।
नियुक्त भएका प्रधानाध्यापकहरूसँग शिक्षा नियमावलीमा व्यवस्था भएबमोजिम ५ वर्षका लागि कार्यसम्पादन करार गरी स्थानीय तहबाट नियुक्ति दिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।अब बाकी दुईवटा माबिमा प्रअ नियुक्ति बाकी रहेको छ ।