नवलपरासी । बर्दघाट नगरपालिकाको पशुपन्छी विकास शाखाले पशुमा देखिने बाँझोपन, रिपिट ब्रीडिङ तथा लामो समयसम्म बाली नखोज्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको बाँझोपन निवारण शिविर (डोर–टु–डोर कार्यक्रम) सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत किसानका गोठमै पुगेर पशुहरूको प्रजननसम्बन्धी आवश्यक परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो । शिविरमा १५ वटा भैँसी र २४ वटा गाई गरी जम्मा ३९ वटा पशुमा प्रजननसम्बन्धी परीक्षण तथा आवश्यक सेवा प्रदान गरिएको नगरपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ ।
पशुमा समयमै प्रजननसम्बन्धी सेवा उपलब्ध गराई पशुधनको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । विशेषगरी लामो समयसम्म बाली नखोज्ने तथा प्रजननसम्बन्धी समस्या भएका पशुको समयमै पहिचान गरी आवश्यक सेवा प्रदान गर्दा किसानको आर्थिक क्षति न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।किसानलाई आवश्यक परामर्श समेत प्रदान गरिएको छ ।
त्यस्तै, लामो समयसम्म बाली नगएका पशुहरूलाई किसानले सडक तथा सार्वजनिक स्थानमा छाड्ने प्रवृत्तिबाट हुन सक्ने सडक दुर्घटना तथा अन्य जोखिम न्यूनीकरणमा समेत कार्यक्रमले योगदान पुर्याउने नगरपालिकाको अपेक्षा छ ।