नवलपरासी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सर्वोत्तम सिमेन्टले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
सर्वोत्तम सिमेन्टका सञ्चालक दिवस नेउपाने, शशी नेउपाने, विमल सवर्थिमा र तेन्जिङ तामाङसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले जानकारी दिए ।
उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको जनाइएको छ।
चेक हस्तान्तरण कार्यक्रममा सञ्चालक शशी नेउपानेले विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले विपत्तिमा सरकारको प्रयासलाई सहयोग पुर्याउन निजी क्षेत्र पनि आफ्नो तर्फबाट योगदान गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
सर्वोत्तम सिमेन्टले यसअघि पनि महाभूकम्प, कोरोना महामारीलगायतका विभिन्न विपत्तिका समयमा आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।