काठमाडौँ– रसुवा बाढीले देशलाई शोकमा पारेको समयमा एउटा भिडियो सार्वजनिक भयो जहाँ एक जना युवाले बाढी आएर राम्रो गर्यो भन्दै फेसबुकमा भिडियो हाले।
उक्त भिडियोमा भनिएको थियो– ‘भोटेकोशी बाढी आएर राम्रो गर्यो। यो राई, लिम्बु, तामाङ, मगर, गुरुङ, शेर्मा मरे राम्रो भयो।’
त्यस भिडियोलाई लिएर आलोचना भइरहेको थियो। त्यसको केही दिनमा रसुवा बाढीमा परी श्रीमान् बेपत्ता भएकी एक महिलाले सरकारलाई गाली गर्दै श्रीमान् खोजी दिन ढिला गरेको विषयमा मिडियामा बोलेकी थिइन्।
उक्त भिडियोमा बोल्ने ती महिलालक्षित पनि गाली गलौजसहित कमेन्टहरू आएपछि प्रधानमन्त्री बालेन्द्र शाह नै उनको बचाउमा उत्रनु पर्यो। शनिबार फेसबुकमा लेख्दै उनले ती महिलाको सरकारप्रतिको आक्रोशलाई सामान्यरुपमा लिए र उनीप्रति गाली गलौज गर्नेहरूमाथि कारबाही हुने जानकारी गराए।
शाहले लेखेका थिए– ‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।’
शाहको उक्त भनाइसँगै प्रहरी कमेन्ट गर्नेहरूको खोजीमा लागेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले हाल कमेन्टमा गाली गर्नेहरूलाई खोजी रहेको छ। ‘हामीले कमेन्टमा गाली गर्नेहरूलाई पनि खोजिरहेका छौँ’, ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले भने।
उनकाअनुसार हालसम्म कमेन्टमा गाली गर्ने दुई जनाको पहिचान भएको छ। गाली गर्नेमध्येमा एक जना रुपन्देहीका हुन् भने अर्का तनहुँका हुन्।
उनीहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालयलाई ब्यूरोले पत्र पठाइसकेको छ। ‘उनीहरू दुई जनालाई मात्र होइन। अन्यको पनि खोजी भइरहेको छ। हामी अन्यलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ’, गिरीले भने।
यद्यपि नेपाल प्रहरीको साइबर ब्यूरोले बाढी आएको भदौ १० गते नै १० जनाको छुट्टै टिम बनाएर बाढीमा फैलन सक्ने गलत सूचनाकाबारेमा अध्ययन गरिरहेको छ।
प्रहरीले बाढी आएर राम्रो गर्यो भन्ने युवालाई पक्राउ पनि गरिसकेको छ। पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका ७ स्थायी घर भई काठमाडौँ चन्द्रागिरी नगरपालिका १२ बलम्बु बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडै रहेका छन्।
उनलाई शनिबार पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिए। उनलाई विभिन्न जातजातिलाई होच्याउने, अमानित गर्ने गरेको आरोपमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार पक्राउ गरी अनुसन्धान भइरहेको छ।