नवलपरासी । पूर्वमन्त्री नेता हृदयेश त्रिपाठीले जसपाले लुम्बिनी प्रदेशसभाका चार जना सदस्यलाई निष्कासन गरेको निर्णयलाई आत्मघाती र हास्यास्पद भएको टिप्पणी गरेका छन्।
त्रिपाठीले ती चार जना प्रदेशसभा सदस्य निर्वाचित हुँदा जसपाको कुनै भूमिका नरहेको दाबी गर्दै उनीहरूलाई निष्कासन गर्ने निर्णयले पार्टीलाई नै कमजोर बनाउने बताएका हुन्।
उनले मधेस प्रदेशमा मुख्यमन्त्री नपाएपछि जसपा नेतृत्व तिलमिलाएको र अन्य प्रदेशमा सरकारमा सहभागी हुने विषयप्रति कुण्ठित भएर लुम्बिनीका प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने निर्णय गरेको देखिएको टिप्पणी गरे।
मधेस प्रदेश अर्थात् तत्कालीन २ नम्बर प्रदेशका नेताहरूमा यस्तो प्रवृत्ति पुरानै रोगका रूपमा रहेको त्रिपाठीको आरोप छ।
विगतमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईलगायतका नेताहरू समेत सहभागी रहेको पार्टी निर्माण गर्न सफल भए पनि उपेन्द्र यादवको अध्यक्षता स्वीकार गरेको केही समयमै पार्टी टुक्राटुक्रा भएको उनले स्मरण गरे।
त्यसको कारण निरंकुश प्रवृत्ति र नेतृत्वमा देखिएको ‘नक्कली घमण्ड’ भएको त्रिपाठीको भनाइ छ।
विगतको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेको उल्लेख गर्दै उनले त्यसमा आफू पनि जिम्मेवार रहेको स्वीकार गरे। निर्वाचनमा पराजय भोग्दासमेत नेताहरूको कार्यशैलीमा सुधार नआउनु दुःखद भएको उनले बताए।
त्रिपाठीले अब पार्टी नेतृत्वले आत्ममूल्यांकन गर्दै युवालाई नेतृत्वमा ल्याउनुको विकल्प नरहेको बताएका छन्। जातजाति तथा भूगोलका आधारमा विभाजित तराई–मधेसले अब नयाँ उत्साह, उदार सोच र फराकिलो दृष्टिकोण भएको नेतृत्व खोजिरहेको उनको भनाइ छ।
‘खुद्रे राजनीति’बाट अब तराई–मधेसको राजनीति अघि बढ्न नसक्ने भन्दै त्रिपाठीले नेतृत्वले आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।