परासी । रसुवाबाट सुरु भएको बाढीको बितण्डाका कारण मुलुक शोकमा रहेका बेला पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सरकारको विपद् व्यवस्थापन कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
बाढी तथा विपद्का कारण सिर्जित अकल्पनीय पीडामा समयमै सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त रकम सहयोग गरेको नगरप्रमुख धनपत यादवले बताए ।
नगर प्रमुख धनपत यादवको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने निर्णय गरेपछि २ लाख ५१ हजार रुपैयाँ जम्मा गरिएको नगरपालिकाले जनाएको छ ।
दुःखद् घडीमा विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।