बर्दघाट,नवलपरासी । बर्दघाट नगरपालिकाको आयोजनामा सकारात्मक सोच, रचनात्मक जीवनशैली तथा आधारभूत योग शिक्षामार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले दुईदिने उत्प्रेरणामूलक कार्यक्रम शनिबारदेखि सुरु भएको छ।
कार्यक्रमको पहिलो दिन नगरभित्रका विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको छ। कार्यक्रमको दोस्रो दिन भने नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई लक्षित गरी सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
कार्यक्रममा मानव सेवा आश्रमका सञ्चालक एवं उत्प्रेरक रामजी अधिकारीले सकारात्मक सोच, जीवनप्रतिको दृष्टिकोण, तनाव व्यवस्थापन, मानवीय संवेदना तथा रचनात्मक जीवनशैलीका विषयमा प्रशिक्षण दिएका छन्। साथै सहभागीलाई स्वस्थ र सन्तुलित जीवनशैलीका लागि आधारभूत योग शिक्षासमेत प्रदान गरिने बताईएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षण पेशामा रहेका व्यक्तिहरूको सकारात्मक सोच र व्यवहारले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण प्रभाव पार्ने बताए। समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन हरेक व्यक्तिमा सकारात्मक सोच र स्वस्थ जीवनशैलीको विकास आवश्यक रहेको उनको भनाइ थियो।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले योग र सकारात्मक सोचलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिए। तनावपूर्ण जीवनशैलीका कारण मानिसमा विभिन्न समस्या बढ्दै गएकाले मानसिक शान्ति, शारीरिक स्वास्थ्य र सकारात्मक सोचका लागि यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गरे ।
प्रमुख प्रशिक्षक रामजी अधिकारीले मानिसको जीवनमा सकारात्मक सोचले ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै आफूभित्रको क्षमता पहिचान गरी समाज र राष्ट्रका लागि रचनात्मक योगदान गर्न सहभागीलाई आग्रह गरे। उनले योग, ध्यान, अनुशासन र मानवीय सेवाको भावनाले जीवनलाई थप अर्थपूर्ण बनाउन सकिने बताए ।
नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमा सकारात्मक सोच, नेतृत्व क्षमता, सेवाभाव र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। दुईदिने कार्यक्रमले सहभागीको व्यक्तिगत तथा व्यावसायिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा सहित कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए ।