नवलपरासी ।बर्दघाट नगरपालिका वडा नम्बर ९ स्थित शाही पाउरोटी उद्योगले आफ्नो उत्पादनमा गुणस्तर कायम नगरेको भेटिएको छ ।आम उपभोक्ताको गुनासो पछि बर्दघाट नगरपालिकाले आज सो उद्योगमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा स्वच्छता कायम नगरेको लेभलिङमा त्रुटि भेटिएको र म्याद नाघ्ने मिति अगावै पाउरोटीमा ढुसी लागेको भेटिएको नगर उपप्रमुख एवम् अनुगमन समिती संयोजक रुद्रप्रकाश उपाध्यायले जानकारी दिए ।”म्याद टास्ने रङ्गिन कलर पेपर बाहिर बाट टास्नु पर्नेमा प्याकेट भित्रबाटै टासिएकाले उक्त पेपरको रङ नै पाउरोटीमा तेल सगै लत्पतिएको देखियो,म्याद ६ दिनको राखिएपनी सकिने मिति भन्दा अगावै ढुसी लागेको जस्तो देखिएको छ”उपाध्यायले भने ।
पाउरोटी लगायत अन्य खाद्य पदार्थ उत्पादनमा प्रयोग गर्ने तेल र पाउरोटी परिक्षणका लागि पठाईएको र रिपोर्टमा गुणस्तरीयता नदेखिए आवश्यक कारबाही गरिने उनले जानकारी दिए ।आम उपभोक्ताको स्वास्थ्यमा सिधै असर पर्ने गरि केही उद्योगहरुले पुरानो बासी तेल प्रयोग गर्ने र पसलहरुबाट म्याद नाघेका उत्पादनहरु फिर्ता लगेपछी तिनै पुन प्रयोग गरेर आउने गरेको समेत उपभोक्ताहरुले आशङ्का व्यक्त गरेका छ्न ।