पश्चिम नवलपरासीका राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक क्षेत्रका अगुवा तथा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूले जिल्लामा धार्मिक सद्भाव, सामाजिक सहिष्णुता र आपसी विश्वास कायम राख्ने तथा गलत सन्देश प्रवाह हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुनसरी जिल्लामा केही दिनयता देखिएका घटनाको सन्दर्भमा त्यस्ता गतिविधि पश्चिम नवलपरासीमा हुन नदिन समयमै सचेत रहनुपर्नेमा जोड दिँदै सरोकारवालाहरूले शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय परासीमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा सहभागीहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा आपसी विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
बैठकमा राजनीतिक दलका नेता, धर्मगुरु तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूले संयमित ढंगले प्रस्तुत हुने, स्थानीय प्रशासनसँग आवश्यक समन्वय गर्ने तथा जिल्लाको शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कुनै पनि शंकास्पद वा अप्रिय घटनासम्बन्धी सूचना प्राप्त हुनासाथ तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरे। साथै, जिल्लामा आयोजना हुने सार्वजनिक कार्यक्रमबारे स्थानीय प्रशासनलाई पूर्व जानकारी गराउने समझदारीसमेत बैठकमा भएको जनाइएको छ।सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सर्वपक्षीय बैठक बसिएको जनाईएको छ ।