धादिङ। सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सिद्धलेक गाउँपालिका वडा नं. ७ निवासी ४८ वर्षीय विशाल भन्ने रुद्र बहादुर गिरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार असार ३२ गते सिद्धलेक–५ बुङचुकस्थित सार्वजनिक स्थानमा गिट्टी र बालुवा धुने ‘वासिङ मेसिन’ को विषयलाई लिएर विवाद भएको थियो।
सोही क्रममा गिरीले ४९ वर्षीय गाउँपालिका अध्यक्ष खतिवडाको गाला र टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएका थिए। आक्रमणपछि गिरी घटनास्थलबाट फरार भएका थिए।
उक्त घटनापछि प्रहरीले गिरीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी खोजी कार्य तीव्र पारेको थियो। फरार रहेका गिरीलाई मंगलबार धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ३ बाट प्रहरीले पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका गिरीलाई आज जिल्ला प्रशासन कार्यालय धादिङबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।