धनगढी। गुरु पूर्णिमाको अवसरमा कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित ‘सि’ गाउँमा रहेको सर्वोदय माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक उन्नयन तथा विकासमा उल्लेखनीय योगदान पुर्याएका दुई जना शिक्षकलाई अभिनन्दन गरेको छ।

विद्यालय र भूतपूर्व विद्यार्थी मञ्चको संयुक्त आयोजनामा विद्यालय परिसरमा सम्पन्न विशेष समारोहमा लामो समयसम्म अध्यापन गरी सेवा निवृत्त तत्कालीन प्राथमिक तहका प्रधानाध्यापक मनबहादुर क्षेत्री तथा सोही विद्यालयमा अध्यापन गरी हाल धनुषा जिल्लामा शिक्षणरत मिथिलेश्वर झालाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो प्रदान गर्दै अभिनन्दन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिका–१४ का वडा अध्यक्ष मनबहादुर बिष्टले विद्यालयको श्रीवृद्धि र गुणस्तरीय शिक्षामा अतुलनीय योगदान पुर्याउने शिक्षकहरूको सम्मानले भावी पुस्तामा गुरुप्रति आदरभाव, कर्तव्यनिष्ठा र सकारात्मक संस्कृतिको विकास गर्न प्रेरणा मिल्ने बताए। आफ्नो कार्यकाल छोटो अवधिमात्र बाँकी रहे पनि विद्यालयको समग्र विकासका लागि सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका सदस्य मीनबहादुर कार्कीले विद्यालयमा योगदान पुर्याएका शिक्षकहरूलाई हरेक वर्ष गुरु पूर्णिमाको अवसरमा सम्मान गर्ने परम्परा रहँदै आएको जानकारी दिए। स्थानीय समुदाय र भूतपूर्व विद्यार्थीहरूको सक्रिय सहयोगमा सञ्चालन हुँदै आएको यस्तो कार्यक्रमले विद्यार्थीहरूमा गुरुप्रति सम्मान, अनुशासन र सकारात्मक संस्कारको विकास हुने विश्वास व्यक्त गरे।

सम्मानित शिक्षकद्वय मनबहादुर क्षेत्री र मिथिलेश्वर झाले लामो समयपछि पनि विद्यालयले आफूहरूलाई सम्झिएर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै विद्यालय परिवारप्रति आभार प्रकट गरे। उनीहरूले सर्वोदय माध्यमिक विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै निरन्तर प्रगतिको मार्गमा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरे।