परासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ कुँडीलाहा क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका अनुसार गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले सरावल–३ भिमटाँडीदेखि सरावलतर्फ आउँदै गरेको भारतीय नम्बर UP 57 AS 3235 को मोटरसाइकललाई रोकि जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक सरावल गाउँपालिका–४ निवासी २० वर्षीय रमेश हरिजन र पछाडि सवार सोही गाउँपालिका–५ निवासी १८ वर्षीय रामप्रसाद हरिजन लाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए ।
प्रहरीका अनुसार मोटरसाइकलको दाहिनेपट्टि रहेको लोगोभित्र लुकाइराखिएको प्लास्टिकको बोराबाट डाइजेपाम २०० एम्पुल, फेनरागन २०० एम्पुल र बुप्रेनोर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागुऔषध बरामद गरिएको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।