बर्दघाट। बर्दघाट नगरपालिका वडा नम्बर १४ धर्मबस्तिमा रहेको दाउन्नेदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले ‘एक घर, एक धारा’ अभियानलाई सफल बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले विपन्न परिवारका लागि निःशुल्क धारा जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने पनि जानकारी दिए।
कार्यक्रममा खानेपानी उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष देविदत्त सापकोटाले स्थानीय सरकारले खानेपानी क्षेत्रलाई बजेटमा समावेश गरे पनि निश्चित प्रतिशत छुट्याएर लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले दीर्घकालीन रूपमा खानेपानीको सुनिश्चितताका लागि पानीका मुहान संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे ।
संस्थाका अध्यक्ष दुर्गा नारायण थारुले अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष तिलप्रसाद श्रेष्ठ र लेखा समिती संयोजक शोभाकर भुसालले आ आफ्ना आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
संस्थामा हाल १ हजार ४९० उपभोक्ता आबद्ध रहेका छन्। आर्थिक वर्षको अन्त्यसम्म संस्थाले १८ लाख २३ हजार ९ सय ३५ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
२०६६ सालमा स्थापना भएको संस्थाको करिब २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की रहेको छ भने शीतल बस्तीमा १ लाख ५० हजार लिटर क्षमताको नयाँ खानेपानी ट्याङ्की निर्माण गरिएको संस्थाले जनाएको छ। संस्थाले २०७६ असार २ गतेदेखि नियमित रूपमा खानेपानी वितरण सुरु गरेको थियो।
साधारणसभामा सल्लाहकार इन्द्र गुरुङ, भिमकाजी गुरुङ,बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्साल लगायत उपभोक्ता तथा सरोकारवालाको उपस्थिति रहेको थियो।