राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका व्यक्तिको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको छ। साथै, अबदेखि १८ वर्षमुनिका व्यक्तिको नयाँ सदस्यता आवेदन पनि स्वीकृत नगर्ने जनाएको छ।
महामन्त्री विपीन आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा बालबालिका सम्बन्धी ऐन, २०७५, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा पार्टी विधानअनुसार यस्तो निर्णय गरिएको जानकारी दिएका हुन्। रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको उल्लेख भएपछि यो विषय सार्वजनिक रूपमा चर्चामा आएको थियो।
विज्ञप्तिमा रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा सदस्यका रूपमा संलग्न गराउने कार्य पार्टीको नीति, अभ्यास वा संस्थागत उद्देश्य नभएको स्पष्ट पारेको छ। पार्टीले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिएको जनाएको छ। भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन उमेर १८ वर्षभन्दा कम देखिने विवरणलाई प्रणालीमार्फत स्वतः पहिचान गरी त्यस्ता आवेदन स्वीकृत नहुने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ।
यस्तै, प्रमाणीकरण भइसकेका सदस्यता अभिलेखको पनि पुनः परीक्षण गरिने र आधिकारिक कागजातसँग मेल खाने विवरण मात्र कायम गरिने जनाइएको छ। रास्वपाले प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता स्वीकृत भएको पाइएमा त्यस्तो सदस्यता तत्काल खारेज गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।