नवलपरासी। जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सम्मानित नवलपरासी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय सुनाइएका बर्दघाट नगरपालिका १४ गङ्गाबस्ती निवासी २६ वर्षीय सञ्जय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
अदालतले २०७९ मंसिर २ गते उक्त मुद्दामा फैसला गरेपछि फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनकै घरबाट फेला पारी पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।