नवलपरासी (पश्चिम) ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कापूर्व जिल्ला सभापति महेन्द्र सेन ठकुरी पुनः रास्वपातर्फ आकर्षित भएको संकेत देखिएपछि पश्चिम नवलपरासीको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचन अघि रास्वपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका ठकुरीले आसन्न रास्वपा महाधिवेशन सफल पार्न आफू सहभागी हुने सन्देशसहित आफ्नो तस्वीर रहेको ब्यानर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको हो।
ठकुरीले निर्वाचनका क्रममा सार्वजनिक आमसभामै रास्वपा त्यागेको घोषणा गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उक्त कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा समेत उपस्थित थिए।शर्माले उनलाई १ सय ८ किलोको माला लगाएर पार्टीमा भित्राएका थिए। त्यसबेला उनले नवलपरासी–१ मा कांग्रेस उम्मेदवार विनोद चौधरी लाई समर्थन गर्ने घोषणा गरेका थिए।
आमसभालाई सम्बोधन गर्दै उनले रास्वपाले संगठन निर्माणमा योगदान दिएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिएको आरोप लगाएका थिए। बाहिर चर्चा गरिएजस्तो रास्वपाले अपेक्षित सफलता हासिल गर्न नसक्ने दाबी पनि गरेका थिए।
त्यसपछि कांग्रेस प्रवेश गरेका ठकुरीमाथि विभिन्न कोणबाट आलोचना भएको थियो भने उनिमाथी आर्थिक लेनदेनको आरोप समेत लाग्दै आएको छ । अहिले भने उनले सामाजिक सञ्जालमार्फत रास्वपाप्रति पुनः मोह देखाउन थालेपछि जिल्लामा राजनीतिक बहस चर्किएको छ। कतिपयले उनको पछिल्लो गतिविधिलाई अवसरवादसँग जोडेर टिप्पणी गरिरहेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै ठकुरीले आफू शुभेच्छुकको हैसियतमा महाधिवेशनमा सहभागी हुन लागेको बताएका छन्। उनले भने, “नसा–नसामा घण्टीको माया छ, के गर्ने।”
रास्वपाका जिल्ला सभापति रवि पाण्डेले पार्टी विधानअनुसार २०७९ सालका उम्मेदवारहरू महाधिवेशन प्रतिनिधि रहने व्यवस्था भए पनि ठकुरीको बारेमा थप बुझ्ने काम भइरहेको बताए।न खुलेर आउन सक्ने न काङ्ग्रेसमै बस्न सक्ने अवस्थाले उनलाई अप्ठ्यारोमा पारेको बताईन्छ ।
पछिल्लो समय ठकुरीले सामाजिक सञ्जालमा रास्वपाप्रति सकारात्मक अभिव्यक्ति र सक्रियता बढाउँदै लगेका छन्। यससँगै उनी महाधिवेशन प्रतिनिधि बन्न पाउने वा नपाउने भन्ने विषयमा समेत चासो बढेको छ।उनका गतिविधिले आम सर्वसाधारणलाई समेत आश्चर्यमा पारेको छ ।