नवलपरासी । अधिकांश मानिसका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भनेको कार्यालयको कामकाज, बैठक र प्रशासनिक व्यवस्थापनमा सीमित रहने विषय हो। तर शितगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा भने कार्यालयको जिम्मेवारीसँगै कृषि कर्ममा पनि उत्तिकै रमाउने व्यक्तित्वका रूपमा परिचित छन्।

कार्यालयको व्यस्त समयतालिकाबाट फुर्सद मिल्नेबित्तिकै उनी करेसाबारीमा पुग्छन्। कहिले आलु रोपिरहेका भेटिन्छन्, कहिले सागबारी गोडमेल गरिरहेका हुन्छन् भने कहिले आफैं झाडी सफा गर्दै श्रम गरिरहेका देखिन्छन्। आफ्नै मेहनतले उत्पादन गरेको ताजा तरकारी खान पाउनुका साथै यसले शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
विभिन्न सरकारी निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका सापकोटा वातावरण संरक्षण, सरसफाइ अभियान, हरियाली प्रवर्द्धन तथा करेसा खेतीप्रति विशेष रुचि राख्छन्। उनी जहाँ सरुवा भएर पुग्छन्, त्यहाँको पहिलो प्राथमिकतामध्ये एक सरसफाइ र वातावरण व्यवस्थापन हुने गरेको सहकर्मीहरू बताउँछन्।

सधैं उत्साह, ऊर्जा र सकारात्मक सोचले भरिएका सापकोटाको कार्यशैली पनि फरक छ। उच्च पदमा पुगेपछि दूरी कायम गर्ने प्रवृत्तिभन्दा उनी सबैसँग सहज र सरल रूपमा घुलमिल हुने स्वभावका छन्। यही कारणले कर्मचारीदेखि सर्वसाधारणसम्म उनीप्रति आत्मीयता महसुस गर्छन्।
सापकोटाले सामाजिक सञ्जालमार्फत करेसाबारीमा बोडी टिप्दै गरेको, गोडमेल गरेको तथा खेतबारीको काममा सक्रिय भएको भिडियो तथा तस्बिरहरू नियमित रूपमा साझा गर्ने गरेका छन्। उनको यो “ओभरटाइम” धेरैका लागि प्रेरणादायी बनेको छ।
उच्च तहको सरकारी कर्मचारी भएर पनि माटो, धुलो र पसिनासँग किन यति धेरै रमाउनुहुन्छ भन्ने प्रश्नमा उनी हाँस्दै भन्छन्, “यति गरेपछि श्रीमतीजी पनि खुसी, तरकारीको पैसा पनि बचत, शारीरिक व्यायाम पनि हुन्छ।”

उनको यो सरल सोच र श्रमप्रतिको सम्मानले एउटा सन्देश दिन्छ—पद र प्रतिष्ठाभन्दा माथि श्रमको मूल्य हुन्छ। यही कारण कृष्णप्रसाद सापकोटा प्रशासनिक नेतृत्वसँगै श्रम, सरसफाइ र आत्मनिर्भरताका उदाहरणीय पात्रका रूपमा स्थापित हुँदै गएका छन्।