+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासीको सीमामा तस्करीविरुद्ध उच्च निगरानी गर्न निर्देशन

हाम्रो आँखा
२०८३ जेष्ठ २५, सोमबार ०८:१२

पश्चिम नवलपरासी ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी–तस्करी, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि थप कडाइ गर्ने भएको छ।

हालै जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले सीमा क्षेत्रमा प्रहरीको निगरानी र गस्तीलाई प्रभावकारी बनाउँदै तस्करीविरुद्ध कडा अभियान सञ्चालन गरिने बताएका छन्।

जिल्लाका विभिन्न प्रहरी युनिटहरूको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै एसपी केसीले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन मातहतका सम्पूर्ण प्रहरी इकाइलाई उच्च सतर्कताका साथ परिचालन गरिसकिएको जानकारी दिए। निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई तस्करीका सम्भावित ‘लुपहोल’ बन्द गर्न, जिम्मेवारीप्रति जवाफदेही बन्न र कार्यसम्पादनमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्।

“दोषी नउम्कियोस्, निर्दोष नपरोस् भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै प्रहरीले काम गरिरहेको छ,” एसपी केसीले भने, “सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाउँदै चोरी–तस्करी, राजस्व चुहावट तथा अवैध गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्नु हाम्रो प्राथमिकता हो।

अवैध धन्दामा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही हुन्छ।”
उनका अनुसार सीमा नाका, भित्री सडकखण्ड तथा सम्भावित तस्करी रुटहरूमा विशेष चेकजाँच, मोबाइल गस्ती तथा निगरानी बढाइएको छ। खुला सीमाका कारण पश्चिम नवलपरासी लागूऔषध ओसारपसार र चोरी–पैठारीको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले यसलाई जिल्लाको प्रमुख सुरक्षा चुनौतीका रूपमा लिइएको बताए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाबाट सरुवा भई पश्चिम नवलपरासी आएका एसपी केसीले लागूऔषध र तस्करी नियन्त्रणमा प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताए। उनले यस अभियानलाई सफल बनाउन आम नागरिक, सरोकारवाला निकाय तथा सञ्चार क्षेत्रबाट सहयोग र सूचनाको अपेक्षा रहेको उल्लेख गरे।

“जनताको विश्वास जित्दै नागरिकसँगको सहकार्यलाई अझ बलियो बनाउने हाम्रो लक्ष्य हो,” उनले भने, “जिल्लाको शान्ति सुरक्षा, अमनचयन र कानुनी शासन सुदृढ गर्न जिल्ला प्रहरी कार्यालय विशेष रणनीतिक योजनासहित अघि बढिसकेको छ।”
प्रहरीले सीमाक्षेत्र केन्द्रित सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अवैध गतिविधि नियन्त्रणमा नतिजामुखी काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ