नवलपरासी, पश्चिम ।बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धिरज शर्मा बस्याल र वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष रबिन्द्र बिक्रम हमाल बीच सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप सुरु भएपछि बर्दघाटको राजनीतिक वृत्त पुनः तातेको छ। एमाले परित्याग गरेपछि पूर्व नगरप्रमुख बस्यालको राजनीतिक कदमलाई लिएर सुरु भएको चर्चा हमालको सार्वजनिक टिप्पणीपछि फेरि उत्कर्षमा पुगेको हो।
हमालले सामाजिक सञ्जालमा बस्यालप्रति कटाक्ष गर्दै एमालेको सिद्धान्त, नीति र नेतृत्वको खुलेर प्रशंसा गर्ने व्यक्ति अचानक पार्टी परित्यागको निष्कर्षमा पुग्नु आश्चर्यजनक भएको बताएका छन्। “एमालेकै नीति र कार्यक्रमले मात्रै देशमा समृद्धि र सुशासन आउँछ भन्ने व्यक्ति केही दिनमै त्यसको विपरीत धारणा राखेर पार्टी छाड्नु स्वाभाविक रूपमा प्रश्नको विषय बनेको छ,” हमालले उल्लेख गरेका छन्।
उनले बस्यालको राजनीतिक यात्रामाथि पनि टिप्पणी गरेका छन्। गणतन्त्रपछि शक्तिशाली नगरप्रमुख, पुनः उम्मेदवार, जिल्ला सचिव तथा अध्यक्ष पदका आकांक्षी नेताका रूपमा परिचित बस्यालले पार्टीभित्र कहिल्यै खुला असहमति वा वैचारिक बहस नगरेको दाबी गर्दै अहिलेको निर्णयप्रति प्रश्न उठाएका हुन्।
यस्तै, बस्याल नगरप्रमुख रहँदा चर्चामा आएका चिसापानी जग्गा प्रकरण, कोरोना कालमा विद्यालय सञ्चालन तथा अनुत्पादक क्षेत्रमा लगानीसम्बन्धी आरोपलाई पनि हमालले घुमाउरो शैलीमा उठाएका छन्। उनले ती विषयमा स्पष्टता दिनुपर्ने संकेत गरेका छन्।
हमालको अभिव्यक्तिपछि पूर्व नगरप्रमुख बस्यालले पनि कडा प्रतिक्रिया दिएका छन्। उनले आफूमाथि लगाइएका आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका छन्। “जग्गा, सम्पत्ति, कोरोना काल वा सार्वजनिक सम्पत्तिसम्बन्धी विषयमा कसैसँग प्रमाण छन् भने कानुनी र तथ्यगत परीक्षण हुनुपर्छ। आरोप केवल आरोपकै लागि गरिनु हुँदैन,” बस्यालले प्रतिक्रिया दिएका छन्।
बस्यालले हमालका आरोपलाई “तुष्टिकरणको माध्यम” को संज्ञा दिँदै लोकतन्त्रमा आरोपभन्दा प्रमाण महत्वपूर्ण हुने बताएका छन्। “म कुनै पनि सत्य छानबिनबाट भाग्ने पक्षमा छैन,” उनले उल्लेख गरेका छन्।
त्यसैगरी सार्वजनिक पद धारण गर्नु नै अपराध मान्ने हो भने आफूहरूसँगै जिम्मेवारीमा रहेका अन्य व्यक्तिहरू पनि त्यसको हिस्सेदार बन्ने तर्क गर्दै बस्यालले हमालतर्फ संकेत गरेका छन्।
बस्याल नगरप्रमुख रहँदा हमाल वडा नम्बर ४ का वडा अध्यक्ष र नगर प्रवक्ता समेत थिए।दुबै जना एमाले बाट निर्वाचित भएका थिए ।सोहि समयदेखि दुवै नेताबीच खटपट र आरोप–प्रत्यारोप चल्दै आएको स्थानीयहरू बताउँछन्। पछिल्ला सामाजिक सञ्जाल अभिव्यक्तिपछि विभिन्न प्रतिक्रिया आएका छन्।
केहीले हमालको अभिव्यक्तिलाई समर्थन गर्दै बस्याललाई अवसरवादीको संज्ञा दिएका छन् भने केहीले परिवर्तनको पक्षमा उभिएको भन्दै बस्यालप्रति सहानुभूति र शुभेच्छा व्यक्त गरेका छन्।
लामो समयदेखिको राजनीतिक असमझदारी र व्यक्तिगत कटुता झल्किने गरी आएको यो सार्वजनिक जुहारीलाई धेरैले केवल आलोचना मात्र नभई आवेग, व्यंग्य र राजनीतिक प्रहार मिश्रित अभिव्यक्तिका रूपमा समेत हेरेका छन्।नेपालको राजनीति अझै पनि ब्यक्ति केद्रीत हुने गरेको र सार्वजनिक फोरम र सामाजिक सन्जाल नेतृत्वको एकअर्का प्रती बिष बमन गर्ने माध्ययम बनेको समेत टिप्पणी हुने गरेको छ ।