बर्दघाट ।बर्दघाट नगरपालिका को आयोजनामा सम्पन्न अन्तर वडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले जितेको छ । रोमाञ्चक फाइनल खेलमा वडा नम्बर ४ ‘ए’ लाई ३० रनले पराजित गर्दै वडा नम्बर १३ च्याम्पियन बनेको हो ।
उपाधिसँगै वडा नम्बर १३ ले नगद ६५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ४ ‘ए’ ले नगद ३५ हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको वडा नम्बर ४ ‘ए’ विरुद्ध वडा नम्बर १३ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । टोलीका लागि सन्दीप सुनारले उत्कृष्ट प्रदर्शन गर्दै ६९ रनको अर्धशतकीय पारी खेले भने अजय थारुले ३२ रनको योगदान दिए ।
वडा नम्बर ४ ‘ए’ का बलर प्रज्वल अर्यालले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र ८ रन खर्चेर २ विकेट लिए । सुरज कार्कीले पनि ४ ओभरमा १३ रन दिँदै ३ विकेट हात पारेर विपक्षीलाई दबाबमा राखेका थिए ।
१५३ रनको लक्ष्य पछ्याएको वडा नम्बर ४ ‘ए’ को सुरुआत भने कमजोर रह्यो । ओपनर निरज श्रेष्ठ पहिलो बलमै आउट भएपछि टोली दबाबमा परेको थियो । त्यसपछि शीर्षक्रमका ब्याटर लगातार आउट हुँदा खेल वडा नम्बर १३ तर्फ मोडिएको थियो ।
मध्यक्रममा आएका प्रज्वल अर्यालले ३५ बलमा ३४ रनको संघर्षपूर्ण पारी खेले । विजय चापागाईंले २१, शौरभ सुवेदीले १९ तथा तिलक क्षेत्रीले १८ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । वडा नम्बर ४ ‘ए’ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमा सीमित भयो ।
वडा नम्बर १३ का लागि सन्दीप सुनारले बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका उनी फाइनल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई शम्भुलाल श्रेष्ठ ले नगद, ट्रफी तथा मेडल प्रदान गरे । कार्यक्रममा बोल्दै उनले नगरस्तरबाट सक्षम क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित बनाउँदै खेल मैदानको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिने जानकारी पनि दिए ।
प्रतियोगितामा बर्दघाट नगरपालिका अन्तर्गतका १० टोलीको सहभागिता रहेको खेलकुद बिकास समिति संयोजक दिपक थापाले बताए ।