बर्दघाट ।लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम” अन्तर्गत बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ । विशेष गरी नसर्ने रोगको जोखिम न्यूनीकरण गर्दै नागरिकलाई नियमित शारीरिक अभ्यासतर्फ अभिप्रेरित गर्ने उद्देश्यसहित व्यायामशाला निर्माण गरिएको हो ।
स्वास्थ्य मन्त्री खेम बहादुर सारु मगर को स्वीकृतिमा प्राप्त व्यायाम सामग्री व्यवस्थापनपछि धर्मबस्तीस्थित खेलमैदान सेन्टर प्लटमा रहेको उदय युवा क्लब परिसरमा खुल्ला व्यायामशाला स्थापना गरिएको हो । व्यायामशालाको शुभारम्भ नगर प्रमुख शम्भुलाल श्रेष्ठ ले एक कार्यक्रमका बीच गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नागरिकको स्वास्थ्य संरक्षण तथा नियमित व्यायाम संस्कृतिको विकासका लागि यस्ता खुल्ला व्यायामशालाले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी स्वास्थ्य प्रवर्द्धनमुखी कार्यक्रमलाई थप विस्तार गरिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सन्तु गाहा मगर ले खुल्ला व्यायामशाला स्थानीय बृद्धबृद्धा, महिला, पुरुष तथा युवायुवती सबैका लागि उपयोगी हुने बताए ।
नियमित व्यायामले मानिसलाई शारीरिक रूपमा चुस्त-दुरुस्त राख्नुका साथै नसर्ने रोगको जोखिम कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
नगरका सामाजिक विकास समिति संयोजक तथा वडा नं. १६ का वडा अध्यक्ष भिमकाजी गुरुङ्ग ले स्वस्थ समाज निर्माणका लागि समुदायस्तरमै यस्ता पूर्वाधार आवश्यक रहेको धारणा व्यक्त गरे । उनले खुल्ला व्यायामशालाले युवादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई शारीरिक रूपमा सक्रिय बनाउन मद्दत पुग्ने उल्लेख गरे ।
कार्यक्रममा निबर्तमान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगर ले स्थानीय नागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि खुल्ला व्यायामशाला आवश्यक रहेको महसुस गर्दै गरिएको पहल सफल भएकोमा खुशी व्यक्त गरे । उनले नागरिकको आवश्यकता सम्बोधन गर्दै व्यायाम सामग्री उपलब्ध गराएकोमा स्वास्थ्य मन्त्री खेम बहादुर सारु मगर तथा लुम्बिनी प्रदेश सरकारप्रति धन्यवाद ज्ञापन गरे ।बिहान मर्निक वाक गर्नेहरुका लागि खुला ब्यायामशाला थप उपयोगी हुने उनले बताए ।
कार्यक्रमकै अवसरमा खुल्ला व्यायामशालाका सम्पूर्ण सामग्री संरक्षण तथा सञ्चालनको जिम्मेवारीसहित उदय युवा क्लबलाई हस्तान्तरण गरिएको जानकारी दिइएको थियो । नगरपालिकाले व्यायामशालाको संरक्षण, व्यवस्थापन तथा दीर्घकालीन सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले ८ लाख ३२ हजार मूल्य बराबरका सामाग्री उपलब्ध गराएको हो ।पछिल्लो समय खुला ब्यायामशालाको अवधारणा सफल बन्दै गएको छ ।
स्थानीयवासीहरूले आफ्नै टोलमा सहज रूपमा व्यायाम गर्न पाउने वातावरण बनेपछि खुशी व्यक्त गर्दै यस्ता स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।