नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ले अतिक्रमणमा परेका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सम्बन्धित पक्षलाई सात दिने अल्टिमेटमसहित सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनामा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्वअनुसार यस्तो कदम चालिएको उल्लेख गरिएको छ।
नगरक्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक ऐलानी, पर्ती, बाटो, कुलो, नाला, पोखरी, चौतारी, खेलमैदान, नदी–खोलाका किनार तथा सार्वजनिक खुला क्षेत्र अतिक्रमण गरी घरटहरा, पसल, संरचना निर्माण गर्ने, निर्माण सामग्री थुपार्ने वा अन्य कुनै प्रकारले प्रयोग गर्ने कार्य बढ्दै गएको पाइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अतिक्रमित सार्वजनिक जग्गा स्वेच्छाले खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा व्यवसायीलाई आग्रह गरेको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम संरचना हटाइने तथा आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ।
सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकालाई सहयोग गर्न अपिल गरिएको छ ।संघ सरकारको निर्देशन अनुरुप नवलपरासीका स्थानीय तहले धमाधम अतिक्रमित क्षेत्रमा डोजर चलाउन थालेका छन ।