नवलपरासी ।नवलपरासीमा सञ्चारमाध्यमहरू एकपछि अर्को गर्दै बन्द हुन थालेपछि जिल्लाको पत्रकारिता क्षेत्र गम्भीर संकटमा परेको छ ।
आर्थिक अभाव, विज्ञापन बजारको संकुचन, प्रविधिगत परिवर्तन तथा सञ्चालन खर्च धान्न नसक्ने अवस्थाका कारण जिल्लाका पुराना तथा स्थापित सञ्चार गृहहरू बन्द हुने क्रम बढ्दो छ । हाल जिल्लामा चार रेडियाे, एक साप्ताहिक पत्रिका सञ्चालनमा छन् । केही पत्रकार आफैले अनलाइन मिडिया सञ्चालन गरेका छन् ।
जिल्लाकै एकमात्र टेलिभिजनका रूपमा सञ्चालन हुँदै आएको त्रिबेणी सामुदायिक टेलिभिजन हाल बन्द छ । त्यसैगरी बर्दघाटबाट प्रसारण हुँदै आएको रेडियो दौँतरी एफएम पनि सञ्चालनमा नरहेको अवस्था छ । बर्दघाटबाट प्रकाशित हुँदै आएको बर्दघाट पोस्ट र स्थानीय पत्रिका समेत प्रकाशन बन्द भइसकेको छ ।
रेडियो सन्देश एफएम पनि बन्द अवस्थामा छ । रेडियो धान्ने अवस्था नै नभएपछि सञ्चालक नै बिदेशीनु परेको छ । बर्दघाटकै सामुदायिक रेडियो रेडियो दाउन्ने लामो समयपछि नवीकरण भएर पुनः सञ्चालनमा आए पनि नियमित र प्रभावकारी प्रसारण गर्न संघर्षरत रहेको छ ।
सदरमुकाम परासीमा रहेको सामुदायिक रेडियो परासीसमेत आर्थिक चापका कारण नियमित प्रसारण गर्न कठिनाइ भोगिरहेको छ । त्यसैगरी जिल्लामा सञ्चालनमा रहेका सामुदायिक रेडियो सुनवल र परासीस्थित रेडियो स्याटेलाइटको अवस्था पनि उस्तै छ । खर्च धान्न मुश्किल परेपछि सञ्चालमा रहेका दुई सामुदायिक रेडियोहरुले बिहान र साँझको चार÷चार घण्टाबाहेक अन्य समय अनलाइनबाट प्रसारण गर्ने तयारीको सोँचमा छन् । त्यस्तै जिल्लाबाट प्रकाशन सुरु गरिएको “सुस्ता सन्देश” पत्रिका सञ्चालनको दुई वर्ष नपुग्दै बन्द भएको छ ।
हाल जिल्लामा छापा माध्यमतर्फ “परासी साप्ताहिक” मात्रै नियमित रूपमा प्रकाशन हुँदै आएको छ । प्रिन्ट मिडियाको इतिहास र विरासतलाई उक्त पत्रिकाले एक्लैले धानेको अवस्था रहेको सञ्चारकर्मीहरू बताउँछन् । उक्त पत्रिकाले समेत आर्थिक अभावको सामना गर्दै चुनौतीका बाबजुद पनि प्रकाशन हुँदै आएको छ ।
स्थानीय सञ्चार गृहहरू बन्द हुँदै जाँदा जिल्लामा सूचनाको पहुँच, स्थानीय मुद्दाको उठान र पत्रकारिताको भविष्यप्रति चिन्ता बढेको छ । सञ्चारकर्मीहरूले स्थानीय सरकार, सरोकारवाला निकाय तथा विज्ञापनदाताले स्थानीय सञ्चारमाध्यम संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए पनि सरोकारवाला निकाय यस प्रती गम्भीर भएको देखिदैन ।
सञ्चार गृह बन्द हुनु र पत्रकारिता प्रती नयाँ पुस्ताको रुचि नहुनुले जिल्लाको पत्रकारिता क्षेत्र नै धरासायी बनेको छ भने पत्रकारहरु समेत बिस्थापित हुनुपर्ने अवस्था आएको छ । अधिकाङ्स पत्रकारहरु राष्ट्रिय मिडियामा जोडिएकाले र केही अनलाइन सञ्चारमाध्यमले मात्रै पत्रकारिता धिकिर–धिकिर चलिरहेको छ । हाल सञ्चालनमा रहेका मिडिया पनि कतिखेर बन्द हुने हो ठेगान छैन । नवलपरासीमा मात्रै होइन देशभरी नै सञ्चारमाध्यमहरु धमाधम बन्द हुदै गएका छ्न ।
जिल्लामा रहेका ७ वटै स्थानीय तहहरु स्थानीय मिडियामाथी संकुचित हुँदा नियमिततामा ह्रास आउन थालेको छ । सानो बजार र आर्थिक मन्दिका कारण नीजी क्षेत्रबाट आउने विज्ञापन समेत प्रायःशुन्य जस्तै देखिन्छ ।
जिल्लाका केही पत्रकारहरुले साझा रुपमा सीमित मिडिया चलाउनु पर्नेसमेत धारणा ब्यक्त गर्न थालेका छ्न । यस्तै अवस्था रहे जिल्लामा केही वष्र्षभित्रमा नै भएका सञ्चारमाध्यम समेत बन्द नहोलान भन्ने अवस्था छैन । जिल्लामा हुने विविध कार्यक्रम, कतिपय मेला महोत्सवमा समेत प्रचार प्रसारका लागि स्थानीय मिडियालाई बेवास्ता गर्दा पनि ब्यवसायिक रुपमा टाढा हुने अवस्था सिर्जना हुन थालेको छ ।