+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नगर बिकसमा दृढ अठोट बोकेकी लुम्बिनी प्रदेशकै एकमात्र महिला मेयर

हाम्रो आँखा
२०८३ बैशाख १५, मंगलवार २३:४५

नवलपरासी, पश्चिम । नेपालको स्थानीय तहमा महिला नेतृत्वको उपस्थिति अझै न्यून रहँदा लुम्बिनी प्रदेशको सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्याल भने दृढ इच्छाशक्ति, सक्रियता र परिणाममुखी कामका कारण अलग पहिचान बनाउन सफल भएकी छन्। उनी लुम्बिनी प्रदेशकै एकमात्र महिला मेयरका रूपमा स्थापित छिन्, जसले केवल इतिहास रचेकी मात्र छैनन्, नेतृत्वमा महिलाको क्षमता प्रमाणित पनि गरिरहेकी छन्।

सामान्यतया नगरप्रमुखहरू औपचारिक कार्यक्रम, सभा–समारोह र उद्घाटनमा सीमित हुने गरेको देखिन्छ। तर मेयर अर्यालको कार्यशैली फरक छ। औपचारिक जिम्मेवारीसँगै उनी विकास निर्माणका कामलाई तीव्रता दिन, नयाँ योजना ल्याउन र वर्षौंदेखि अधुरा रहेका आयोजनालाई पूर्णता दिन सम्बन्धित मन्त्रालय, विभाग र संघीय निकायसम्म निरन्तर धाइरहेकी छन्।

उनको दैनिक कार्यतालिका हेर्ने हो भने नगरभित्रका अनुगमनदेखि राजधानीसम्मको समन्वय बैठकसम्मको व्यस्तता स्पष्ट देखिन्छ।

समाजसेवाबाट नेतृत्वसम्मको यात्रा

बिमला अर्यालको राजनीतिक यात्रा कुनै आकस्मिक उपलब्धि होइन। उनी लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएकी थिइन्। महिला सशक्तीकरण, विपन्न वर्गको सहयोग, शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय स्तरमा गरेको योगदानले उनलाई जनतामाझ लोकप्रिय बनायो। यही आधारले जनताले उनलाई नगरको कार्यकारी नेतृत्व सुम्पिएको हो।
उनलाई नजिक बाट बुझ्ने र चिन्नेहरु भन्छ्न “उहाँ चुनाव जितेर मात्र आउनु भएको होइन, वर्षौंदेखि हाम्रो बीचमै काम गर्दै आउनुभएको हो” यही कारण उनले जनविश्वासलाई निरन्तरता दिन अझ बढी मेहनत गरिरहेकी छन्।

चुनौतीबीचको दृढता

उनको नेतृत्व यात्रा भने सहज छैन। सीमित बजेट, अपर्याप्त स्रोत–साधन, संघीय संरचनाबाट आउने ढिलाइ, र कहिलेकाहीँ पार्टीभित्रकै असहयोगजस्ता चुनौतीहरूले उनको कामलाई प्रभावित पार्ने गरेका छन्। तर यी सबै अवरोधका बाबजुद पनि उनी पछि हटेकी छैनन्।

नगरपालिकाभित्रका कर्मचारी व्यवस्थापनदेखि विकास आयोजनाको पारदर्शिता कायम राख्नसम्म उनले कडा निर्णय लिनुपर्ने अवस्था आएको बताइन्छ। नजिकबाट काम गर्ने एक कर्मचारीका अनुसार, “उहाँ काम गर्न हिचकिचाउनु हुन्न, काम गर्नुपर्छ भने दबाब आउँदा पनि अघि बढ्नुहुन्छ।”

विकासमा स्पष्ट प्राथमिकता

मेयर अर्यालले सुनवल नगरपालिकाको विकासका लागि दीर्घकालीन सोचसहित योजना अघि बढाइरहेकी छन्। विशेषगरी:

सडक तथा पूर्वाधार निर्माण

खानेपानी र सरसफाइ

शिक्षा र विद्यालयको गुणस्तर सुधार

स्वास्थ्य सेवा विस्तार

कृषि र स्वरोजगार प्रवर्द्धन

पढ्न नपाएका महिलाहरूका लागि विद्यालय निर्माण

अभिभावक बिहिन बालबालिकाका लागि विद्यालय निर्माण

आयुर्वेद सेवा बिस्तार

यी क्षेत्रलाई उनले प्राथमिकतामा राखेकी छन्। अधुरा रहेका योजनाहरूलाई सम्पन्न गर्ने र नयाँ योजनालाई दिगो बनाउने उनको मुख्य लक्ष्य रहेको छ।

उनले पटक–पटक भनिरहेकी छन्, “विकास कुनै व्यक्तिको होइन, सम्पूर्ण नगरबासीको आवश्यकता हो। जनताले दिएको विश्वासलाई परिणामबाटै प्रमाणित गर्नुपर्छ।”खुट्टा तान्नेहरुले तान्दै गर्छ्न,मेरा पाइला रोकिदैनन,म महिला हुँ यसर्थ कमजोर नहेरियोस,सबै नेतृत्वमा हुने सामर्थ्य ममा पनि छ”उनले भनिन ।

महिला नेतृत्वको सशक्त सन्देश

लुम्बिनी प्रदेशमा एकमात्र महिला मेयर हुनु आफैंमा ठूलो जिम्मेवारी भएको उनी बताउँछिन्। उनको भनाइमा, “महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने सोचलाई कामले नै तोड्नुपर्छ।”खुट्टा तान्ने अनि कसरी असफल बनाउन सकिन्छ भन्नेहरू पनि छ्न तर साथ दिने आम नागरिकहरु पनि हुनुहुन्छ,खयर अरुलाई दोष लाउनु भन्दा कामको परिणामले देखाउने हो”उनी भन्छिन ।

उनको सक्रियता र उपलब्धिले अन्य महिलालाई पनि राजनीतिमा आउन प्रेरित गरिरहेको स्थानीयहरूको विश्वास छ। महिला नेतृत्वप्रति अझै केही स्थानमा देखिने पूर्वाग्रहलाई उनले व्यवहारिक काममार्फत चुनौती दिइरहेकि छ्न ।

जनतासँग नजिकको सम्बन्ध

मेयर अर्यालको अर्को विशेषता भनेको जनतासँगको प्रत्यक्ष सम्पर्क हो। उनी नियमित रूपमा वडा–वडामा पुगेर स्थानीय समस्या बुझ्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र गुनासो सुन्ने कार्य गर्दै आएकी छन्। यसले जनतामा विश्वास बढाएको छ भने योजना कार्यान्वयनमा पनि सहजता ल्याएको छ।

सुनवल नगरपालिकाको विकासलाई केन्द्रमा राख्दै अघि बढिरहेकी बिमला अर्याल अहिले केवल एक नगरप्रमुख मात्र होइनन्, उनी परिवर्तनको प्रतीक बनेकी छन्। चुनौतीबीच अवसर खोज्दै, सीमित स्रोतलाई अधिकतम उपयोग गर्दै र जनअपेक्षालाई सम्बोधन गर्ने प्रयास गर्दै उनी अघि बढिरहेकी छन्।”चुनौती र अवरोध त कति भए भए तर आत्मविश्वास र पारदर्शीताले दृढ बनाएको छ”उनको विश्वास छ ।

कति पय काम र जनताका अपेक्षा अनुसार नभएका हुन सक्छ्न,तर मनदेखी मुल्यांकन कुनै दिन होला,ईतिहासले बताउने छ,निर्वाचित भए देखि परिवार,साथिभाई,नातागोता सबै सम्बन्धहरुलाई दिने समय थाती राखेर अनवरत अघि बढेको छु,आफ्नो बारेमा राम्रो सुन्ने रहर सामान्यत:मानिसको स्वाभाव हो तर स्वस्थ रुपमा गरिएको सत्य आलोचना स्विकार्नु पर्छ”उनको तर्क छ ।

लुम्बिनी प्रदेशकै एकमात्र महिला मेयरका रूपमा उनले देखाएको सक्रियता र प्रतिबद्धताले आगामी दिनमा महिला नेतृत्वको दायरा अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ