+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

योगयुक्त बर्दघाट,रोगमुक्त बर्दघाट: सबै वडामा योगप्रति आकर्षण बढ्दो

हाम्रो आँखा
२०८३ बैशाख १५, मंगलवार २२:४८

नवलपरासी, पश्चिम ।“योगमय बर्दघाट, रोगमुक्त बर्दघाट” भन्ने उदेश्यलाई सार्थक बनाउँदै बर्दघाट नगरपालिकामा योग अभ्यासप्रति नागरिकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। नगरका विभिन्न वडाहरूमा सञ्चालन भइरहेका योग साधना केन्द्रहरूले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समुदायलाई अनुशासित र सकारात्मक जीवनशैलीतर्फ उन्मुख गरिरहेका छन्।

हालसम्म नगरका ९ वटा वडामा १३ वटा योग साधना केन्द्र स्थापना भई नियमित सञ्चालनमा रहेका छन्। यस अभियानलाई अझ विस्तार गर्दै चालु आर्थिक वर्षभित्र वडा नम्बर १२ मा नयाँ केन्द्र स्थापना गर्ने तयारी गरिएको छ भने आगामी आर्थिक वर्षमा थप ६ वटा वडामा योग कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको छ। समग्रमा बर्दघाटलाई ‘योग नगर’को रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ।

मङ्गलबारबाट वडा नम्बर १५ मा सुरु भएको योग शिविरमा, वडा नम्बर १५,१६ र ५ का वडाका स्थानीय र जनप्रतिनिधिको उपस्थिति रहेको थियो।नगरप्रमुख शम्भुलाल श्रेष्ठ एवम् उपप्रमुख रुद्र प्रकाश उपाध्यायले स्थानीयको उत्साहजनक सहभागीताले पछिल्लो समय योगको महत्व र प्रभावकारीता बढ्दै गएको बताउनु भयो ।

योग अभियानका अगुवा तथा अध्यक्ष नरेश पंगेनीले योगले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सबै नागरिकलाई नियमित योग अभ्यासमा जोडिन आग्रह गर्नुभयो। उहाँले नगरलाई पूर्ण रूपमा योगमैत्री बनाउने लक्ष्य प्राप्तिका लागि सम्पूर्ण योग साधना केन्द्र, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

स्थानीयवासीहरूको बढ्दो सहभागिता र सकारात्मक प्रतिक्रिया हेर्दा बर्दघाटमा योगप्रति आकर्षण अझ विस्तार हुने अपेक्षा गरिएको छ। स्वास्थ्य, अनुशासन र सकारात्मक सोच प्रवर्द्धन गर्ने यस अभियानले “रोगमुक्त बर्दघाट” निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिईएको छ ।प्रकाश श्रेष्ठ र सरस्वती श्रेष्ठले शिविर सञ्चालनको सहजीकरण गर्नु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ