नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित सूर्यनगर रंगशालामा नव युवा क्लवको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भएको १०औँ संस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरले हात पारेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा अभिषेक चर्च रजहरले वीरगंज युनाइटेड पर्सालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा अभिषेकका विश्वास श्रेष्ठ (जर्सी नम्बर १७) ले पहिलो हाफको १८औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।
जितसँगै विजेता अभिषेक चर्च रजहरले नगद रु. ६ लाख ६६ हजार ६ सय ६६ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वीरगंज युनाइटेड पर्साले नगद रु. ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार राशी प्राप्त गरेको छ ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका विश्वास श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो।
समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सूर्यनगर गोल्डकपको संरक्षकत्व नगरपालिकाले लिएको उल्लेख गर्दै प्रतियोगितालाई आगामी दिनमा अझ व्यवस्थित र निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले खेलकुदको विकासमार्फत युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने लक्ष्य लिइएको पनि बताए।खेलको समापन सामरोहको अवसर पारी आयोजक नवयुवा क्लवले २४ बर्ष पार गरी २५ औं बर्ष प्रवेश गरेको उपलक्ष्य बर्षोत्स्व समेत मनाईएको छ।
२०७२ सालदेखी सुर्यनगर गोल्डकपको सुरुवात भएको वडा अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिए ।
क्लबको ईतिहासलाई हेर्दा नव युवा क्लवको संस्थापक अध्यक्ष ईन्द्र गुरुङ रहेका थिए त्यसपछि क्रमशःतुलाराम गुरुङ,मीन बहादुर पु,नबन्धुराज पौडेल,लालु गुरुङ,भरत गुरुङ, कृष्ण प्रसाद सापकोटा,भिमकाजी गुरुङ,अमर बहादुर थापा मगर हुँदै हाल धन सिंह चितौरे क्ल्वको अध्यक्ष रहेका छ्न ।
स्थानीय स्तरमै राष्ट्रियस्तरको प्रतिस्पर्धा झल्काउने यो प्रतियोगिताले खेलकुद क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले विश्वास लिएको छ।