+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुस्तामा पटेरजन्य सामग्रीको कलात्मक प्रयोग गर्दै महिलाहरूलाई तालिम

हाम्रो आँखा
२०८३ बैशाख ३, बिहीबार २३:२२

नवलपरासी । सुस्ता गाउँपालिकामा पटेरबाट उत्पादित सामग्री बनाउने एक महिने तालिम सम्पन्न भएको छ।

गाउँपालिकाको पहलमा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय स्रोत–साधनको उपयोग गर्दै आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको थियो। तालिम अवधिभर सहभागीहरूलाई पटेरबाट डोको, डालो, चटाई, झोला लगायतका दैनिक प्रयोगका सामग्रीहरू तयार गर्ने व्यावहारिक सीप सिकाइएको थियो।

प्रशिक्षकहरूले सामग्री छनोटदेखि उत्पादन प्रक्रिया, गुणस्तर कायम गर्ने तरिका र बजार व्यवस्थापनसम्बन्धी ज्ञानसमेत प्रदान गरेका थिए।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले ग्रामीण क्षेत्रमा उपलब्ध कच्चा पदार्थको सदुपयोग गरी आर्थिक क्रियाकलाप विस्तार गर्न यस्ता तालिमहरू प्रभावकारी हुने बताए।

उनले सिकेको सीपलाई व्यवहारमा उतार्दै साना तथा घरेलु उद्योगको रूपमा विकास गर्न सहभागीहरूलाई आग्रह गरे। साथै, गाउँपालिकाले आगामी दिनमा समेत यस्ता सीपमूलक तथा रोजगारमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्ने योजना बनाएको बताएका छन्।स्थानिय स्तरमै खेर गैरहेको पटेरलाई सदुपयोग गर्दै कलात्मक सामाग्री निर्माणले यसको सम्भाब्यतालाई थप उजागर गर्न टेवा पुर्याएको छ

विशेषगरी महिला हरुको उल्लेखनीय सहभागिताले स्थानीय स्तरमै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।उक्त तालिमले सहभागीहरूको ज्ञान, सीप तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर समाज निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ