+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटमा ५ दिने बृहत् योग शिविर सुरु, ‘योग नगर’ घोषणा गर्ने लक्ष्य

हाम्रो आँखा
२०८२ चैत्र १८, बुधबार २१:५६

नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाटमा पाँच दिने निःशुल्क बृहत् योग विज्ञान शिविर सुरु भएको छ। बर्दघाट नगरपालिकाको सहयोग, वडा नं. ५ को समन्वय तथा नगरभित्रका सम्पूर्ण साधना केन्द्रहरूको सहकार्यमा चैत्र १८ गतेदेखि २२ गतेसम्म बर्दघाट–५ पालडाँडा खेलमैदानमा शिविर सञ्चालन भइरहेको हो।

शिविरको उद्घाटन नगरप्रमुख शम्भुलाल श्रेष्ठले गर्नुभएको हो। कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय व, वडा नं. ५ की वडा अध्यक्ष बिमला गुरुङ सहभागी हुनुभएको थियो।

स्थानीय संघसंस्था, साधक–साधिकाहरू, योगप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
त्रिनेत्र बुद्ध मङ्गल योग समितिका अध्यक्ष तथा योग गुरु नरेश पंगेनीको अध्यक्षता एवं प्रशिक्षणबाट शिविरको शुभारम्भ गरिएको हो।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले स्वस्थ नागरिक निर्माणका लागि योग अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै बर्दघाटलाई “योग नगर”का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो । “योगले शारीरिक मात्र होइन मानसिक र सामाजिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ। नगरपालिकाले आगामी दिनमा योग सम्बन्धी कार्यक्रमहरूलाई थप प्राथमिकता दिँदै आवश्यक बजेट तथा कार्यक्रममार्फत सहयोग गर्नेछ,” उहाले भन्नुभयो ।

त्यस्तै उपप्रमुख उपाध्यायले योग अभ्यासलाई जनस्तरसम्म विस्तार गर्दै जीवनशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो। वडा अध्यक्ष गुरुङले वडा स्तरबाट यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै स्थानीय सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष योग गुरु पंगेनीले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आग्रह गर्दै नियमित अभ्यासले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने बताउनु भयो। उहाले नगरका विभिन्न स्थानमा सञ्चालन भइरहेका साधना केन्द्रहरूको प्रभावकारीताबारे जानकारी दिँदै आगामी दिनमा अझ व्यवस्थित विस्तार गरिने उल्लेख गर्नु भयो ।हाल बर्दघाट नगरपालिकाका ६ वटा वडामा ९ वटा साधना केन्द्र सञ्चालनमा रहेका छन्।

आगामी आर्थिक वर्षमा थप ४ वटा बृहत् शिविर सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ। त्यसपछि क्रमशः बाँकी वडाहरूमा पनि शिविर सञ्चालन गर्दै सबै वडामा योग कार्यक्रम विस्तार गरिने लक्ष्य लिइएको छ।

आयोजकका अनुसार आगामी वर्षहरूमा सबै वडामा नियमित योग गतिविधि सञ्चालन गरी बर्दघाटलाई औपचारिक रूपमा “योग नगर” घोषणा गर्ने लक्ष्य राखिएको छ। यसका लागि नगरपालिकासँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि, प्रशिक्षक उत्पादन तथा योग विकासमा जोड दिइने बताइएको छ।

शिविरमा दैनिक रूपमा योगाभ्यास, प्राणायाम, ध्यान तथा स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिइनेछ। आयोजकले सबै नगरवासीलाई शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन आग्रह गरेको छ।

कार्यक्रमको स्वागत उपाध्यक्ष सरस्वती श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन सचिव प्रकाश श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ