+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

हाम्रो आँखा
२०८३ आश्विन २३, शुक्रबार ११:५९

काठमाडौँ । चर्चित लोकदोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। प्रतिष्ठानको महाधिवेशनबाट शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो।

लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल शर्मा लामो समयदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय छन्। मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका शर्मा अब प्रतिष्ठानको नेतृत्वमा पुगेका छन्।

प्रतिष्ठानको अध्यक्ष पदका लागि शर्माको नाममा सहमति जुटेसँगै उनको नेतृत्वमा नयाँ कार्यसमिति बन्ने बाटो खुलेको हो। महाधिवेशनमा नेतृत्व चयनका विषयमा विभिन्न पदमा प्रतिस्पर्धा र आन्तरिक समीकरणको चर्चा भइरहेका बेला अध्यक्ष पदमा भने सर्वसम्मति कायम भएको छ।

यसअघि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा देखिएका गायक दीपक खड्काले पशुपति शर्मालाई समर्थन गर्ने तयारी गरेसँगै शर्मा सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना बलियो बनेको थियो। अन्ततः उनी प्रतिष्ठानको नेतृत्वमा सर्वसम्मत रूपमा चयन भएका हुन्।

लोकदोहोरी क्षेत्रका स्थापित कलाकार शर्माको नेतृत्वमा प्रतिष्ठानले कलाकारको हकहित संरक्षण, लोकसंस्कृतिको प्रवर्द्धन तथा नेपाली मौलिक गीतसंगीतको संरक्षणमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अब शर्मासामु प्रतिष्ठानभित्र एकता कायम गर्दै कलाकारका समस्या सम्बोधन गर्ने र संस्थालाई थप व्यवस्थित बनाउने चुनौती रहनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ