बर्दघाट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दघाट नगर समितिको सभापति पदका लागि सात जना आकाङ्क्षी देखिएका छन्। नगर समितिको अधिवेशन भोलि हुने तयारी भइरहेका बेला यो समाचार तयार पार्दा सम्म सभापति पदमा आकाङ्क्षीहरूको संख्या सात पुगेको हो।
नगर सभापतिका लागि सुकबहादुर गुरुङ, भिमकाजी गुरुङ, सुरज केसी, लिलाहरी पौडेल, बेदबिना तिवारी, बद्री सुवेदी र शरद पौडेल आकाङ्क्षीका रूपमा देखिएका छन्।यद्यपि अधिवेशन प्रक्रिया सुरु हुँदा यी अनुहार बाहेक अन्य आकाङ्क्षीहरुले समेत ईच्छा जाहेर गर्न र उम्मेदवारी दिन सक्ने छन ।
नगर सभापति चयनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकको संयोजकत्वमा गठित कार्यदलले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेको बताइएको छ। आकाङ्क्षीहरूबीच छलफल तथा सहमतिको प्रयास जारी रहेको जनाइएको छ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा हुँदै स्थानीय तहसम्मका अधिवेशन प्रक्रिया अघि बढाएको छ।
बर्दघाटमा पनि वडादेखि नगर, क्षेत्र र जिल्ला तहसम्म सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्ने उद्देश्यसहित छलफल अघि बढाइएको कांग्रेस नेताहरूले बताएका छन् ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा भने नगर सभापतिका आकाङ्क्षीहरूबीच निर्वाचन हुने अवस्था बन्नेछ। हालसम्म देखिएका सात आकाङ्क्षीमध्ये सर्वसम्मतं रूपमा अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको कार्यबहाक नगर सभापति मन्जु चालिसेले जानकारी दिईन ।भोलि बिहान १० बजे देखि दाउन्ने पार्टी प्यालेसमा अधिवेशनको प्रक्रिया सुरु हुने उनले बताईन ।