नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले महासंघको ७१ औं स्थापना दिवस मनाएको छ । २०१२ साल चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना भएको हो ।
हरेक वर्षको यसै दिन महासंघले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउँदै आएको छ । सोही क्रममा आज जिल्ला शाखा नवलपरासीले पनि परासी बुद्धचोकमा दिप प्रज्ज्वलन गरेर स्थापना दिवस मनाएको हो । दिप प्रज्ज्वलनपछि महासंघले कोण सभाको आयोजना गरेको थियो ।
जिल्ला शाखाका अध्यक्ष केशव पराजुलीको अध्यक्षतामा सुरु भएको कोण सभालाई निवर्तमान अध्यक्ष हरि शर्माले समापन गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रताका लागि नेपाली पत्रकारहरु जहिले पनि लड्दै आएको बताउनुभयो । विभिन्न समयमा गठन भएका केही सरकारहरुले नागरिकको अधिकार कुण्ठित गर्ने प्रयास गरेको बताउँदै अहिलेको सरकारबाट आफूहरुले त्यो अपेक्षा नगरेको बताउनुभयो ।
नागरिक अभिव्यक्ति स्वतन्त्र कुण्ठित गर्न खोजे नेपाली पत्रकारिताले जनताका लागि खबरदारी गर्ने भन्दै पत्रकारितामा भएका कानुन कार्यान्वयन र आवश्यक कानुन निर्माण गरेर नेपाली पत्रकारितालाई अघि बढाउन पनि नयाँ सरकारसँग शर्माले माग गर्नुभयो । कार्यक्रममा जिल्लामा सञ्चालित सञ्चार संस्थाका प्रमुख, पत्रकार, सञ्चारकर्मीलगायत रामग्राम क्षेत्रका युवाहरुको सहभागिता रहेको थियो ।