नवलपरासी । सम्भावित भारी वर्षा र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले विशेषगरी चुरे क्षेत्रबाट बग्ने खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको हो।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा आगामी कात्तिक १२ गते बिहीबारदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ। उक्त मौसमी प्रणालीको प्रभाव नवलपरासीमा समेत पर्न सक्ने आकलन गर्दै प्रशासनले कात्तिक १३ देखि १४ गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्भावित वर्षाका कारण चुरे क्षेत्रबाट बग्ने खोलाहरूमा एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपासका बासिन्दालाई जोखिमप्रति सचेत रहन प्रशासनले अनुरोध गरेको छ। वर्षाका कारण हुन सक्ने डुबानबाट बच्न नाला तथा कल्भर्ट सफा गरी पानीको निकास सहज बनाउनसमेत आग्रह गरिएको छ।
कृषि बालीमा क्षति हुन नदिन धान तथा अन्य बाली काटिसकेको भए सुरक्षित स्थानमा तत्काल भित्र्याउन र नकाटेको बाली तत्काल नकाट्न सूचनामार्फत अनुरोध गरिएको छ।
सम्भावित विपद्को जोखिम कम गर्न आवश्यक सावधानी अपनाउन, स्थानीयस्तरमा पूर्वतयारी गर्न तथा मौसमको अवस्थाबारे जानकारी राख्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।