नवलपरासी । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री (खुलातर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कँडेलले आफ्नो उम्मेदवारी घोषणा गर्दै महाधिवेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रीय नेतृत्व, प्रदेश सभा क्षेत्र र पालिका तहका सभापति, जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसहित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग साथ, सहयोग र समर्थनका लागि अपिल गरेका छन्।
उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “आदरणीय सम्पूर्ण नेतागण, महाधिवेशन प्रतिनिधिज्यूहरू, जिल्ला/क्षेत्र/प्रतिनिधि सभा क्षेत्र/प्रदेश सभा क्षेत्र/पालिका सभापतिज्यूहरू, सम्पूर्ण शुभेच्छुक तथा जनसम्पर्क समितिका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरू लगायत शुभचिन्तकहरूमा साथ, सहयोग र शुभेच्छासहित अमूल्य मतको अपेक्षा गर्दछु।”
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय भएका कँडेल २०३६ सालदेखि नेपाली कांग्रेसमा आबद्ध छन्। उनी २०५१ र २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। कँडेलले २०५५ तथा २०५८–२०५९ सालमा गृहराज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी कांग्रेस संसदीय दलको सचेतकसमेत भइसकेका छन्।
पार्टी संगठनमा पनि लामो अनुभव बोकेका कँडेलले कांग्रेसको १२औँ महाधिवेशनबाट नवलपरासी जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए भने १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–२ बाट निर्वाचित कँडेल यसपटकको १५औँ महाधिवेशनका लागि पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
लामो समयदेखि पार्टी संगठन, संसदीय राजनीति र सरकारमा विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका कँडेलले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको आन्तरिक प्रतिस्पर्धा थप रोचक बनेको छ।