काठमाडौ ।कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्र सीमित नरही संगठनको संरचनामै देखिन थालेको छ । १५औँ महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठुलो संख्यामा युवा नेतृत्व तहमा आउँदै छन् ।
विधानमै युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिनुले कांग्रेसको परम्परागत संरचनामा नयाँ पुस्ताको प्रवेश संस्थागत गरेको हो । युवाको प्रतिनिधित्वलाई नीति निर्माणसँग जोड्ने दाबी नेतृत्वको छ भने युवा नेता यसलाई पार्टीभित्र आफ्नो भूमिका विस्तारको सुरुवातका रूपमा लिइरहेका छन् ।
१५औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र क्षेत्रमा ठुलो संख्यामा युवाको प्रतिनिधित्व भएको छ वा अधिवेशन हुन बाँकी ठाउँमा पनि आउने निश्चित गरिएको छ । यसरी वडादेखि केन्द्रसम्म सबै तहका अधिवेशन–महाधिवेशन सकिँदासम्म कांग्रेसमा झन्डै ४४ हजार युवा पदीय जिम्मेवारीमा पुग्दै छन् ।
नेतृत्वका लागि लामो समय कुर्नुपर्ने र माथिल्लो पुस्ताको छायाबाट बाहिर निस्कन कठिन हुने गुनासो युवाको रहँदै आएको थियो । विशेष महाधिवेशनपछि कांग्रेसका विभिन्न तहमा युवाको प्रतिनिधित्व उल्लेख्य बढेको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बन्यो । साथसाथै कांग्रेसमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधानसमेत संशोधन भयो । सोही विधानअनुसार हाल कांग्रेसको अधिवेशन भैरहेका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने क्षेत्रीय अधिवेशन पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ ।
वडा कार्यसमितिमा कम्तीमा १० हजार २७१ युवा छानिएका छन् भने क्षेत्रीय प्रतिनिधिमा कम्तीमा ३३ हजार ७१५ युवा चयन भएका छन् । कांग्रेसको माथिल्लो तहमा पुग्न क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनैपर्छ । क्षेत्रीय प्रतिनिधिमा हरेक वडाबाट कम्तीमा तीनजना छनोट भएका छन् ।
क्षेत्रीय प्रतिनिधिले मात्रै पालिका र प्रदेश प्रतिनिधिका साथै महाधिवेशन प्रतिनिधि बन्न पाउँछन् । महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला र प्रदेशको नेतृत्वका साथै केन्द्रीय कार्यसमितिको उम्मेदवार बन्न पाउँछन् ।
पालिकामा कम्तीमा २२५९ युवा छानिएका छन् । प्रत्येक गाउँपालिका कार्यसमितिमा ३० वर्षमुनिको कोटाबाट एक महिलासहित तीन युवा चयन भएका छन् । यस्तै, नगरपालिकातर्फ ३० वर्षमुनिका एक महिलासहित तीन युवा कार्यसमितिमा आएका छन् ।