+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अवधी नपुग्दै नवलपरासीका हाकिमहरुको सरुवा,जनप्रतिनिधि असन्तुष्ट

हाम्रो आँखा
२०८३ भाद्र २७, शनिबार १२:३७

नवलपरासी । नवलपरासीका तीनवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित द्वितीय श्रेणीका २६ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेपछि जिल्लाका तीनवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन् ।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको छ । उनि
गत वर्षको भदौमा रामग्राम नगरपालिकामा आएका थिए ।

रामग्राममा कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट खेमराज देवकोटालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको छ । त्यसैगरी, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेललाई तिलोत्तमा नगरपालिकामा सरुवा गरिएको छ । उनि पनि गत भदौमा बर्दघाट आएका हुन । बर्दघाट नगरपालिकामा निर्वाचन आयोगबाट ऋषिराम भुषाललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ ।

सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ । उनि असारदेखि कार्यालयमा उपस्थित भएका थिएनन । सुनवल नगरपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयबाट दुर्गा बन्जाडेलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको छ ।

त्यसैगरी प्रतापपुर गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिता वि.क. थारुको  गैडहवा गाउँपालिका रुपन्देही सरुवा भएको छ । उनको ठाउँमा कारागार कार्यालयबाट सुवास शर्मा पौडेललाई खटाइएको छ । सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालको ओमसतिया गाउँपालिका रुपन्देही सरुवा भएको छ । उहाँको ठाउँमा अध्यागमन विभागबाट अर्जुनप्रसाद रेग्मीलाई खटाइएको छ ।

प्रमुख प्रशासकियत अधिकृतहरुको समयावधि नपुग्दै गरिएको सरुवाले जनप्रतिनिधिमा असन्तुष्टि देखिएको छ । सामान्यतया प्रमुख प्रशासकीय अधिकृतलगायत नेतृत्वकर्ता कर्मचारीलाई एउटा कार्यालयमा कम्तीमा दुई वर्षसम्म काम गर्न दिने मान्यता भए पनि कार्यकाल पूरा नहुँदै भएको सरुवाले जनप्रतिनिधि असन्तुष्ट देखिएका छन् ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले अवधि पूरा नहुँदै गरिएको सरुवाले कामकाजमा असर पर्ने बताए । कामको रफ्तार बढिरहेको अवस्थामा गरिएको सरुवा शङ्काको घेरामा रहेको उनको भनाइ छ ।”अवधी नपुग्दै सरुवा हुदा भर्खरै निर्माण भएको बजेटको कार्यान्वयनमा समेत प्रभाव त पर्छ,अब जनप्रतिनिधिको पनि कार्यकाल धेरै छैन,यस्तो तरिकाले कसरी स्थानीय तह सफल हुन्छ्न”श्रेष्ठले भने ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले प्रमुख प्रशासकीय अधिकृतहरुको २ बर्षमा मात्रै सरुवा गर्ने मापदण्ड बनाउने अनि आफुहरुलाई मन लागे अवधी नपुग्दै सरुवा गरिदिने कुरा राम्रो नभएको बताए।”अहिले रामग्राम नगरपालिकामा वर्ल्ड बैंकको लगानीमा ठुला आयोजनाहरु सुरु हुने चरणमा छन,तर बिचमै यसरी सरुवा हुँदा यसले बिकास निर्माण लगायत अन्य कुरामा पनि असर पार्न सक्छ,संघले आफ्नो मापदण्ड आफै कार्यान्वयन गरेन “यादवले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ