नवलपरासी । सुस्ता गाउँपालिका–३ पथरकलास्थित सीमा क्षेत्रमा भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि बेवारिसे अवस्थामा राखिएका ८ सय १ थान शालग्राम प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि लुकाएर राखिएको अवस्थामा सालिग्राम बरामद गरिएको हो।
प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा राखिएका सालिग्राम बरामद गरेको जनाएको छ। बरामद सालिग्रामको अनुमानित मूल्य ३ लाख २० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद सालिग्राम आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।