काठमाडौ ।देशका विभिन्न स्थानमा भएका हिंसा, साम्प्रदायिक तनाव तथा सार्वजनिक सुरक्षा अवस्थाप्रति गैरजिम्मेवार बनेको भन्दै जेनजीहरूको एक समूहले गृहमन्त्री सुधन गुरुङलाई पदबाट हटाउन माग गरेको छ ।
गृहमन्त्री गुरुङको पृष्ठभूमि विवादास्पद रहेको र पछिल्लो समय उनले भ्रमण गरेका क्षेत्रमा एकाएक हिंसात्मक द्धन्द्ध फैलिएको उल्लेख गर्दै जेनजी मुभमेन्ट नेपालले यस्तो माग अघि सारेको हो । यस सन्दर्भमा मुभमेन्टले जेनजी आन्दोलनका क्रममा गुरुङले आन्दोलन भड्काएको र द्धन्द्ध सृजना गरेको भन्ने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन स्मरण गराएको छ ।
‘यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई देशको गृह प्रशासनको नेतृत्वमा नियुक्त गर्नुले राज्यको निष्पक्षता, विधिको शासन र सार्वजनिक विश्वासमाथि गम्भीर प्रश्न खडा गरेको हाम्रो ठहर छ’, मुभमेन्टले वक्तव्य जारी गर्दै भनेको छ, ‘पछिल्लो समय गृहमन्त्री निरीक्षण वा भ्रमणमा जहाँजहाँ पुगेका थिए सोही क्षेत्रमा हिंसात्मक घटना र तनाव बढेको छ ।’
सुनसरीमा बिजुलीको लाइन काटेर गोली प्रहार गरी नागरिकको हत्या एवम् दर्जनौँ मानिसलाई अंगभंग बनाइएको बताउँदै वक्तव्यमा राज्यकै तर्फबाट देशलाई साम्प्रदायिक दंगामा लैजाने काम भएको आरोप लगाइएको छ ।

यी विषयमाथि स्वतन्त्र निष्पक्ष र विश्वनीय अनुसन्धान हुन् आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङलाई तत्काल पदबाट हटाइ प्रभावमुक्त अनुसन्धानको वातावरण बनाउन मुभमेन्टको माग छ । देशको आन्तरिक सुरक्षा,कानुनी शासन र राष्ट्रिय एकता सुदृढ बनाउन उच्च नैतिकता, व्यावसायिक दक्षता, अनुभव,क्षमता तथा निष्पक्षता भएको व्यक्तिलाई गृहमन्त्री बनाउन पनि सुझाव दिइएको छ ।
वक्तव्यमा नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको सुनिश्चितता राज्यको मुख्य दायित्व भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सरकार जिम्मेवार र पारदर्शी बन्नुपर्ने आवश्यकतासमेत औंल्याइएको छ ।