नवलपरासी ।खानेपानीको मुहान संरक्षण गर्न र आम नागरिकको आधारभूत आवश्यकताको रुपमा रहेको शुद्ध खानेपानीको पहुँच वृद्धिका लागि सरोकारवालाहरुले विद्युत महसुलमा सहुलियत प्रदान गर्नु पर्नेमा जोड दिएका छन ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल, लुम्बिनी प्रदेशको जिल्ला भेला तथा खानेपानी संस्थाका समितिले बर्दघाट नगरपालिकामा आयोजना गरेको पदाधिकारी र व्यवस्थापकहरूको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानीको सतह सुक्दै गएको प्रती चिन्ता व्यक्त गर्दै मुहान संरक्षणमा लाग्न आग्रह गरेका हुन ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले खानेपानी सेवा अत्यन्त संवेदनशील भएकाले यस क्षेत्रमा कार्यरत व्यक्तिहरू थप जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए। उनले वर्षभरि उत्कृष्ट सेवा दिँदा पनि एक दिन मात्र धमिलो पानी वितरण भए सम्पूर्ण राम्रो काम ओझेलमा पर्ने भएकाले सेवा प्रवाहमा गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिन आग्रह गरे ।
नगरपालिकाले निःशुल्क खानेपानी ल्याब सञ्चालन गर्ने तयारीसँगै ‘एक घर, एक धारा’ अभियानलाई समेत अघि बढाएको जानकारी उनले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले खानेपानी क्षेत्रका योजना बनाउदा पहुँचका आधारमा नभई उपभोक्तालाई केन्द्रमा राखेर सबै खानेपानी संस्थालाई समान व्यवहार गर्दै आयोजना वितरण गर्नु पर्नेमा जोड दिए ।
महासंघकी गण्डकी प्रदेश अध्यक्ष बिमला पहाडीले शुद्ध खानेपानी उपलब्ध गराउने दायित्व राज्यको भए पनि उपभोक्ता संस्थाहरूले स्वयंसेवी भावनाका साथ नागरिकलाई सेवा प्रदान गरिरहेको बताउनुभयो। गण्डकी प्रदेशमा खानेपानी संस्थाहरूलाई विद्युत् महसुलमा सहुलियत दिइएको उल्लेख गर्दै उहाँले लुम्बिनी प्रदेशमा पनि त्यस्तो व्यवस्था लागू गर्न महासंघले पहल गरिरहेको जानकारी दिईन । महासंघकै पहलमा खानेपानी संस्थामाथि लाग्दै आएको २५ प्रतिशत आयकर खारेज गर्न सफल भएको उहाँको भनाइ थियो। साथै पानीका मुहान र भू–सतह दुवै घट्दै गएको विषयप्रति पनि उनले चिन्ता व्यक्त गरिन ।
कार्यक्रममा महासंघका संस्थापक महासचिव धीरज शर्माले संस्थाको स्थापना कालका प्रयासहरू स्मरण गर्दै नागरिकको दैनिक जिवन र स्वास्थ्य सग जोडिएको खानेपानीको शुद्धतामा समेत जोड दिनु पर्ने बताए । त्यसैगरी खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख इन्जिनियर अतुलेश कर्णले लुम्बिनी प्रदेशका ६ जिल्लामध्ये पश्चिम नवलपरासीमा आर्सेनिकको समस्या सबैभन्दा बढी रहेको जानकारी दिए ।
भेलाबाट नवलपरासीको नयाँ नेतृत्व चयन
भेलाले गुप्तबहादुर के.सी.को अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा मञ्जु नयौपाने पाण्डे, महासचिवमा केशवकान्त न्यौपाने, सचिवमा शान्ति पोखरेल पौडेल तथा कोषाध्यक्षमा गोमा आचार्य चयन भएका छ्न ।
त्यसैगरी सदस्यहरूमा राधादेवी अधिकारी, गणेशचन्द्र गुप्ता, तारबहादुर पौडेल क्षेत्री, कृष्णा क्षेत्री, ओमप्रकाश चौधरी, राजेन्द्र शर्मा र संजयकुमार कानु चयन हुनुभएको छ। एक सदस्य पछि मनोनयन गर्ने निर्णय गरिएको निर्वाचन समितिका संयोजक अधिवक्ता रामकृष्ण पौडेलले जनाए ।